बाजुराको स्वामीकार्तिकमा कांग्रेस विजयी

मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरतबहादुर रोकाया र उपाध्यक्षका उम्मेदवार मैना जोशी विजयी भएको स्वामीकार्तिक खापर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अध्यक्षमा रोकायाले दुई हजार ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेकपा (एमाले) चतुर्भुज शाहीले एक हजार ७५७ मत प्राप्त गरेका थिए । वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का चिरञ्जीवी शाहीले एक हजार २८२ र स्वतन्त्र उम्मेदवार विमलबहादुर शाहीले ३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष मैना जोशी एक हजार ८१० ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याइन् । त्यस्तै वाम गठबन्धनको माओवादी केन्द्रका सुरेशबहादुर रोकाया एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिं विकले ४१ मत ल्याएका छन् । कांग्रेसका दुवै उम्मेदवारले २०७४ को चुनावमा पराजय भोगेका थिए ।

विसं २०७४ मा निर्वाचित रोकाया अहिलेका समाजवादीका उम्मेदवार चिरञ्जीवी शाहीसँग पराजय भएका थिए । स्वामिकार्तिकमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन भएको थियो । गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)बाट र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार थिए । वडा नं १ र २ माओवादी केन्द्र तथा ३, ४ र ५ एकीकृत समाजवादीले वडाध्यक्षमा तालमेल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *