निर्वाचन जित्न सत्ता गठबन्धनले धाँधलीको साहारा लिएको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । आइतबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी निर्वाचन जित्न सत्ता गठबन्धनले धाँधलीको साहारा लिएको आरोप लगाएका हुन् ।

एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको तथा मतगणनामा पनि धाँधली भएको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भयो। मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा एमाले खेद व्यक्त गर्दछ ।’

एमालेले निर्वाचनमा सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा प्रहरी तथा कर्मचारी खटाएको, आफ्ना मतदातालाई हतोत्साहित गर्न अघिल्लो दिन गिरफ्तार गर्ने र मतदानपछि छाड्ने कार्य गरेको आरोपलगाएको छ ।

यस्तै एमाले कार्यकर्ताको अपहरण र पूर्व रुकुम तथा ताप्लेजुङमा एमाले कार्यकर्ताको हत्या भएको, ताप्लेजुङमा मृत्यु भएका कार्यकर्ताको पोष्टमार्टम पनि नगरेको गुनासो एमालेको छ । दोलखा, सिन्धुपाल्चोक, काभ्रे, बारा, अछाम, बझाङ, सर्लाही, रौतहटलगायत जिल्लाका धेरै मतदान केन्द्रमा बुथ कब्जा गरेको एमालेको आरोप छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *