लिभरपुललाई एफए कपको उपाधि

एजेन्सी । लिभरपुलले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ गोलले पराजित गर्दै लिभरपुलले १६ वर्षपछि पहिलो पटक एफए उपाधि उचालेको हो । वेम्बली रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा लिभरपुल विजयी भएको हो ।
सुटआउटमा लिभरपुलको लागि जेम्स मिल्नर, थियागो अल्कान्टारा, रोबर्ट फर्मिन्हो, ट्रेन्ट एलेक्सान्डर ओर्नाल्ड, डिएगो जोटा र कोन्स्टानटिनोस ट्सिमिकासले गोल गर्दा साडियो माने चुके ।  यस्तै चेल्सीको लागि मार्कोस एलोन्सो, रिक जेम्स, रोस बार्केली, जोर्जिन्हो र हकिम जियचले गोल गर्दा सेसार अज्पिलिकुएटा र मेसन माउन्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।
यस हारसँगै चेल्सीले लगातार तेस्रो पटक उपविजेतामा चित्त बुझाएको छ । यता लिभरपुललाई भने उपाधिमा ह्याट्रिक गर्ने अवसर रहेको छ । लिभरपुल प्रिमियर लिगको दुई खेल मात्र बाँकी रहँदा शिर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा तीन अङ्कले पछि रहेको छ भने युईएफए च्याम्पियन्स लिगको फाइनलमा पनि पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *