फोटोमा हेर्नुस् मतदान

काठमाडौँ । आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । ‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिन सुरु गरेका छन् । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो ।
कामपा प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन् । नेपाली कांग्रेसका उम्मेदवार उनले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् । मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताइन् ।
कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गरे ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गरेका छन् । उनले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुगेका थिए । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ ।

‘जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन ।
मतदान पछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपील गरे । उनले भने“ स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो । ”
उनले भने, “जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो ।”
कामपा प्रमुखका प्रत्यासी स्थापितद्वारा मतदान
काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार उनले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

गृहमन्त्री खाणद्वारा मतदान
गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मुलुकभर नै उत्साहपूर्ण रुपमा मतदान सुरु भएको छ ।
वरिष्ठ नेता पौडेलद्वारा मतदान
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताएका छन् । उनले भने,“सङ्घीयता विकासका लागि फलदायी भएको छ । स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ । ”
प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा भक्तपुरबाट मतदान
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए । उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए
सभामुखद्वारा सिन्धुपाल्चोकबाट मतदान
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकबाट मतदान गरेका छन् । उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *