USAID

चीनले सगरमाथाबाट संकलन गर्यो नौ सिलिडर बरफ र हिउँको नमूना

काठमाडौँ । चीनले विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरोबाट बरफ र हिउँको नमूना संकलन गरी अध्ययन र अनुसन्धानका लागि तिब्बतको ल्हासास्थित एक अनुसन्धान संस्थामा पुर्याएको छ ।

नेपाल-चीन सीमा क्षेत्रमा अवस्थित सगरमाथा क्षेत्रको वातावरण विश्लेषणका लागि चिनियाँ वैज्ञानिक टोलीले संकलन गरेको नौ सिलिण्डर बरफ र हिउँको नमूना ल्हासास्थित चाइनिज एकेडमेमी अफ साइन्सेजमा पठाइएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

तीन व्याच नमूना सगरमाथाको चुचुरो ८ हजार ८४८ मीटर उचाइबाट संकलन गरिएको हो भने बाँकी ६ नमूना ७ हजार २८ मीटरको उचाईबाट लिइएको हो । हिमाल आरोहणको क्षेत्रमा विश्व रेकर्ड नै रहने गरी संसारको सबैभन्दा उच्च भूभागबाट लिइएको यो पहिलो नमूना भएको चाइना मिडिया ग्रुपले जनाएको छ ।

१३ सदस्यीय आरोहण दलले गत साता सगरमाथाको सफल आरोहण गरी ती नमूना संकलन गरेको हो । संकलित सबै नमूना तिब्बत पठारभूमी अनुसन्धान केन्द्रको आइस कोर बैँकमा भण्डार गरिएका छन् ।अध्ययन र अनुसन्धानका लागि संकलित नमूना विविध सामग्रीको रुपमा प्रयोग हुने र त्यसले विभिन्न युगको प्रतिनिधित्व गर्ने पनि जनाइएको छ ।

सबै संकलित नमूनाहरु पगालेर पानी बनाइने र त्यसमा रहेका रसायनिक तत्तहरुको विश्लेषण गरिने छ । चाइना एकेडेमी अफ सोसियल साइन्सका प्राज्ञ याओ थान तोंगले संकलीत नमूनाहरुको अध्ययनले सगरमाथाको ग्लासियरको बारेमा जानकारी दिनुका साथै त्यहाँकाे वातावरणीय संरक्षणको अवस्थाको पुनः मुल्यांकन गर्न नयाँ अन्तरदृष्टि प्रदान गर्ने बताए । सगरमाथा क्षेत्रको फरकफरक उचाइका विशेषताहरुको बारेमा जानकारी लिइने छ ।

चीनले सगरमाथाको नयाँ र बृहत् वैज्ञानिक अनुसन्धान सर्वेक्षणका लागि दुई साताअगाडि २७० जना विज्ञहरुलाई विभिन्न १६ समूहमा त्यसतर्फ पठाएको थियो । छिङहाई-तिब्बत पठारभूमीमा सन् २०१७ मा सुरु गरिएको वैज्ञानिक अनुसन्धान सर्वेक्षणलाई निरन्तरता दिदैँ दोस्रो चरणमा विभिन्न क्षेत्रका विज्ञसहितको टोली सगरमाथातर्फ पठाएको हो । अध्ययनको नतिजाले छिङहाई-तिब्बत पठारभूमीको दिगो विकासलाई अगाडि बढाउन र विश्वव्यापी वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न ठूलो महत्त्व हुने बताइएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.