भगौडा कैदीको सर्वोच्चबाट व्याख्या

काठमाडौं । सर्वोच्च अदालतले भागेका कैदीको हकमा सजाय हुने व्यवस्थाको विषयमा पूर्णइजलासको फैसलाले थप व्याख्या गरेको छ । सर्वोच्चको नयाँ व्याख्या आएसँगै यसअघि कारागारबाट कैदी भागेमा हुने सजाय निर्धारणमा देखिएको ३० वर्षदेखि रहँदै आएको अन्योलता हटेको छ ।

सिरहा कारागारमा कैदी जीवन बिताउँदै आएका धादिङको धुनीबेंसी–१ का यादव गिरीको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले फैसला गर्दै यसअघि संयुक्त इजलासबाट आपसमा बाझिएको दुई अलग–अलग फैसलाले गरेको अन्योलता हटाउने काम गरेको छ ।

न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको पूर्णइजलासले गत वैशाखमा गरेको फैसलाको दुई साताअघि जारी पूर्णपाठमा भागेको कैदी सजाय निर्धारण गरिदिएको छ । फैसलामा ‘जन्मकैद पाएको व्यक्ति भुक्तान नहुँदै भागेमा डेढी बढाइ पुनः सजाय गर्नुपर्ने भएकाले कारागार ऐनअनुसार थप सजाय गर्न रोकिँदैन’ भनिएको छ ।

तर, त्यसरी डेढी सजाय गरिसकेपछि भाग्नुअघि भुक्तान गरिसकेको सजायसमेत जोड्दा पनि जन्मकैदको सवाइभन्दा बढी हुन नहुने सर्वोच्चको व्याख्या छ । २० वर्षको जन्मकैद भुक्तान गर्दै गरेको व्यक्ति कारागारबाट भागे उसलाई हुने थप सजाय पाँच वर्षभन्दा बढी हुन सक्दैन । डेढी सजाय तोक्दा (भाग्नुअघि भुक्तान गरेबाहेक) २० वर्षभन्दा बढी हुनुहुँदैन ।

सर्वोच्चको सो व्याख्याले अब जन्मकैद सजाय पाएको व्यक्ति भागेमा २५ वर्षभन्दा बढी सजाय हुन नसक्ने फैसला गरेको छ । ‘दण्ड सजायको उद्देश्य अपराध गर्न निरुत्साहित गराउनु पनि हो । कुनै पनि कार्यलाई अपराधका रूपमा घोषणा गरिसकेपछि त्यसबापत दण्ड सजाय तोक्नैपर्ने हुन्छ । त्यसैले कारागारबाट भाग्ने कैदीलाई थप सजाय गर्नुपर्ने हुन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

धादिङको धुनीबेंसी–१ का यादव गिरीलाई ज्यान मार्ने मुद्दामा धादिङ जिल्ला अदालतले २४ असार २०५४ सालमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । गिरी १३ फागुन २०५२ सालमा ज्यान मार्ने उद्योगमा जेल परिसकेका थिए । जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएपछि गिरीले तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन दिए ।

तत्कालीन पुनरावेदन अदालतल पाटनले १३ चैत २०५४ मा र सर्वोच्चले २०५७ साल वैशाखमा जिल्ला अदालतकै फैसला सदर गरिदियो । सर्वोच्चको फैसलापछि गिरी २९ वर्ष कारागार बस्नुपर्ने भयो । तर, गिरी सात वर्ष पाँच महिना जेल बसेपछि बिरामीको बहानामा वीर अस्पताल भर्ना भए । ३० साउन २०६० सालमा अस्पताल परिसरबाटै भागे ।

कैद भुक्तान नहुँदै गिरी भागेपछि कारागार नियमावलीअनुसार थप सजाय हुने व्यवस्था छ । कारागार ऐनको दफा २४९३० अनुसार भागेको व्यक्ति पक्राउ परेपछि डेढी सजाय हुने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्ला अदालत काठमाडौंले उनले भुक्तान गर्न बाँकी १२ वर्ष ६ महिना ११ दिनको डेढी सजायमा १८ वर्ष ९ महिना १७ दिन कैद हुने फैसला भयो ।राजधानी दैैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *