कीर्तिपुरको नतिजामा तीनवटा वडा निर्णायक

काठमाडौं। कीर्तिपुर नगरपालिकाका पुरानो बस्तीका तीनवटा वडाले सधैं निर्वाचनको मत परिणामलाई प्रभावित पार्ने गरेको छ। यो बस्तीका बासिन्दाले पार्टीका आधारमा, जातीय आधारमा र नातेदारको आधारमा मतदान गर्ने गरेको पाइन्छ।

यस नगरपालिकाका ३० हजार ३ सय २८ मतदाताले मतदान गर्ने भए पनि किर्तिपुरका तीन वडा वडा १ लायकु, वडा २ देवढोका र वडा १० चिठुविहार, मानटोलका बासिन्दाको मत निर्णायक हुने गरेको छ। नेवारमध्ये पनि करिब ९० प्रतिशत महर्जन रहेको यो कीर्तिपुरको थुम्कोेको बस्तीमा वडा ३ को केही भागअन्तर्गत पालीफल पनि जोडिएको छ।

यस बस्तीमा करिब आठ हजार मतदाता छन्। अग्रिेस, एमाले र माओवादी केन्द्रबाट यिनै बस्तीबाट उम्मेदवार उठेका छन्। राजनीतिक दलबाट पनि आफ्नो पक्षमा जित हासिल गर्न यस बस्तीबाटै प्रायः उम्मेदवार उठाउने गरेका छन्। कांग्रेसका नगर प्रमुख राजकुमार नकर्मी, एमालेका केशरत्न बज्राचार्य र माओवादीका शिवशरण महर्जन यस बस्तीका स्थानीय हुन्।

‘यस बस्तीभन्दा बाहिरबाट नगरप्रमुख जस्तो पदमा उम्मेदवार उठाएमा जित्न निकै कठिन हुन्छ,’ एक स्थानीयले भने। मतदाता भने कुनै पनि दलको नेता मत माग्न आए पनि हस् हुन्छ नै भन्ने गरेका छन्। उनीहरूले कसैलाई पनि मत दिन्न भनेका छैनन् र नेताहरूसँग कुनै माग र गुनासो पनि राख्ने गरेका छैनन्। २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार एमालेका रमेश महर्जनले ७ हजार ३ सय ६० मत प्राप्त गरेका थिए। उनका लागि आधाभन्दा बढी मत यही वडाबाट परेको थियो।

कीर्तिपुर नगरपालिकामा एमालेबाट मेयरको टिकट वितरणमा देखिएको अन्तर्विरोधका कारण एमालेले जित हासिल गर्न चुनौती बन्दै गएको छ। यसअघिका मेयर रमेश महर्जन पुनः दोहोरिन चाहेको अवस्था र उनीपछि अन्य पुराना कार्यकर्ता पनि केशरत्न बज्राचार्यलाई नगर प्रमुखको टिकट दिएकोमा असन्तुष्ट देखिएका छन्।

टिकट नपाएपछिको अवस्थाले मतदाताहरूले अन्तर्घात गर्ने सम्भावना पनि देखिएको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *