वैज्ञानिक अनुसन्धानका लागि २७० जनाको चिनियाँ टोली सगरमाथामा (फाेटाे फिचरसहित)

काठमाडौँ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा नयाँ बृहत् वैज्ञानिक अनुसन्धान सर्वेक्षण गर्न २७० जना चिनियाँ विज्ञको टोली त्यसतर्फ गएको छ । चीनको छिङहाई-तिब्बत पठारभूमीमा सन् २०१७ मा सुरु गरिएको वैज्ञानिक अनुसन्धान सर्वेक्षणलाई निरन्तरता दिदैँ दोस्रो चरणमा विभिन्न क्षेत्रका विज्ञसहितको टोली चीनले सगरमाथातर्फ पठाएको हो ।

अनुसन्धानका लागि १६ टोलीमा २७० जना अनुसन्धाकर्ता तीन दिनअगाडि सगरमाथाकाे उत्तरी माेहडाकाे पहिलाे आधार शिविर पुगेकाे चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

विविध विधा समेटी विभिन्न क्षेत्रका वैज्ञानिकहरुको सहभागितामा अत्याधुनिक उपकरणहरूसहित विश्वका छानो मानिने छिंगहाई तिब्बत पठारभूमिमा सन् २०१७ पछि गरिन लागेको यो सबैभन्दा ठूलो अनुसन्धान अभियान हाे । पश्चिमी वायु-मनसुन तालमेल, एशियाली वाटर टावरको परिवर्तन, इकोसिस्टम र जैविक विविधता तथा सगरमाथा क्षेत्रमा भएका मानव गतिविधिहरूलगायत प्रमुख वैज्ञानिक मुद्दाहरूमा अनुसन्धान अभियान केन्द्रित रहने छ ।

अनुसन्धानका लागि कुल आठ मौसम केन्द्रहरू स्थापना गरिनेछ । जसमध्ये चारवटा समुद्री सतहबाट ७ हजार मिटरभन्दा माथि स्थापना गरिने छ । ८,८०० मिटरको उचाइमा रहेको सबैभन्दा अग्लो मौसम स्टेशन सफलतापूर्वक स्थापना भएमा त्यो विश्वको सबैभन्दा उच्च भूभागमा स्थापित एक मात्र स्वचालित मौसम स्टेशन हुनेछ ।

सो अनुसन्धान टोलीले वातावरणीय परिवर्तन, हरितगृह ग्यासको चापमा हुने परिवर्तन, इकोसिस्टम र ग्लोबल वार्मिङको पृष्ठभूमिमा सगरमाथाको अति उच्चभूभागको चरम वातावरणमा मानव अनुकूलनका बारेमा पनि अध्ययन गर्नेछ ।

सगरमाथा क्षेत्रको वायुमण्डलीय वातावरण तथा सतही बरफ र हिँउमा भएका परिवर्तनहरूको बारेमा वैज्ञानिक तथ्यांक संकलन गर्न सक्ने अपेक्षा गरिएको छ । अभियानबाट जलवायु तापक्रमको सन्दर्भमा सगरमाथाको अत्यन्त उच्च-उचाई क्षेत्रमा वातावरणीय परिवर्तनको सिद्धान्तहरू प्रतिपादन गर्ने अपेक्षा गरिएको छ ।

अध्ययनको नतिजा छिङहाई-तिब्बत पठारभूमीको दिगो विकासलाई अगाडि बढाउन र विश्वव्यापी वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न ठूलो महत्त्वको रहने छ ।

फाेटाेः सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *