सर्वोच्चद्वारा एआईजी पोखरेलको रिट दर्ता, बुधबार सुनुवाइ हुने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको निर्णयविरुद्ध अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ ।

आफूभन्दा डेढ वर्ष जुनियर एआईजी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर गर्न माग गर्दै पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले पोखरेलको रिट दर्ता भएको र रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारलाई पेसी तोकिएको जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।

रिटमा पोखरेलले आफू ज्येष्ठता/वरिष्ठता, अध्ययन, तालिम, पुरस्कार, विभूषण, चुनौतीपूर्ण र विशेष जिम्मेवारी निर्वाह र कार्य सम्पादन मूल्याङ्कन समेतका दृष्टिले म निवेदकलाई नेपाल सरकार मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्न नहुने कुनै वस्तुपरक कारण नभएको जिकिर गरेका छन् । उनले सिंहलाई प्रहरी महानिरीक्षक पदमा गैरकानूनी रूपमा बढुवा गरेको दाबी गरेका छन् ।​

Leave a Reply

Your email address will not be published. Required fields are marked *