चीनले सगरमाथाको शिखरमा स्वचालित मौसम विज्ञान केन्द्र बनाउँदै, नेपाल अनभिज्ञ

काठमाडौँ । चीनले सगरमाथाको शिखरमा मौसम अनुगमन गर्न स्वचालित मौसम विज्ञान सर्वाेक्षण केन्द्र स्थापना गर्ने भएकाे छ । विश्वकै सबैभन्दा अग्लो स्थानको जलवायुबारेमा महत्त्वपूर्ण तथ्यांकको लागि चीनले नयाँ उपकरणसहित मौसम विज्ञान केन्द्र स्थापना गर्न लागेकाे हाे ।

चीनको १४ सदस्यीय अनुसन्धान टोलीले सगरमाथा शिखरको सफल आरोहण गरी सो केन्द्र स्थापना गर्न लागेकाे हो । टोलीले ८ हजार ८ सय मिटरको उचाईमा स्वचालित उपकरणसहित मौसम विज्ञान सर्वेक्षण केन्द्र स्थापना गर्न लागेकाे चिनियाँ सञ्चारमाध्यम चाइना डेलीले जनाएको छ ।

पाँच पटक सगरमाथाको चुचुरो पुगिसकेका आरोही देछेन नोडुपको नेतृत्वमा उक्त विशेषज्ञ टोली शिखरमा पुगेको हो । ओलम्पिक टर्चलाई सगरमाथाको शिखरमा पुर्याउने पनि देछेन नै हुन् ।

‘हामीले ८३०० मीटरको उचाईबाट उकालो लाग्दा अक्सिजन, खाना र पानी मात्रै बोकेर लैजान्थ्यौँ’, उनले भने, ‘यसपाली हामीले ५० केजीभन्दा गाह्रो सामान बोकेर गयौँ ।’

उक्त आरोहण दलले आठ वटा स्टेशनको निर्माण गर्ने बताइएको छ ।

सगरमाथा नेपाल र चीनको सीमा क्षेत्रमा रहेता पनि मौसम विज्ञान सर्वेक्षण केन्द्र स्थापना गरेको विषयमा नेपाललाई औपचारिकरुपमा जानकारी गराइएको छैन । ‘हामीलाई अफिसियल खबर छैन’, नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तबीर लामाले नेपाल समाजसँग भने, ‘चाइनाको साइडमा उनीहरुले स्थापना गर्न सक्छ ।’

नेपाली मोहडाबाट सगरमाथा आरोहण गर्दा अझसम्म पनि तेस्रो मुलुककाे मौसम पूर्वानुमानलाई आधार मान्ने गरिएको छ । चिनियाँ पक्षबाट मौसम पूर्वानुमानसम्बन्धी जानकारी पाउन सके त्यसले नेपाललाई पनि ठूलो फाइदा हुने अध्यक्ष लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *