चालु आवमा ५.८४ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं। कोभिड–१९ का कारण चालु आर्थिक वर्ष (आव) का केही महिना प्रभावित भए पनि ५.८४ प्रतिशतले मुलुकको अर्थतन्त्र विस्तार हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांकअनुसार यस वर्ष उपभोक्ता मूल्यमा मुलुकको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार भई ४८ खर्ब ५१ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

यस्तै आधारभूत मूल्यमा भने अर्थतन्त्र ५.४९ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। विभागले चालु आवको ६ देखि ९ महिनासम्मको अवधिमा मुलुकभर भएका आर्थिक गतिविधिका आँकडा तथा सूचनाको आधार र आगामी दिनमा हुने गतिविधिको अनुमान गरी अर्थतन्त्रको यो तस्बिर सार्वजनिक गरेको हो। चालु आवमा अर्थतन्त्रको विस्तार कस्तो दरमा भयो भन्ने यकिन तथ्यांक भने २ वर्षपछि मात्र निकाल्ने गरिन्छ।

विभागका अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्रको छ। यो क्षेत्रले कुल जिडिपीको ६१.८ प्रतिशत हिस्सा लिने अनुमान गरिएको छ। यस्तै प्राथमिक क्षेत्रको हिस्सा २४.५ र द्वितीय क्षेत्रको हिस्सा १३.७ प्रतिशत रहने अनुमान विभागको छ। त्यस्तै कृषि क्षेत्रमा ३.९ र गैरकृषि क्षेत्रमा ६.९ प्रतिशतले आर्थिक वृद्धि हुने विभागको अनुमान छ।

तथ्यांक सार्वजनिक कार्यक्रममा विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आवको ६ देखि ९ महिनासम्म प्राप्त तथ्यांक र विवरणका आधारमा ५.८४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए। ‘अहिले कोभिड–१९ को प्रभाव न्यून छ। आर्थिक वर्षको अन्त्यसम्म यसको नकारात्मक असर नरहने देखिएकाले आर्थिक क्रियाकलाप सहज हुने अनुमानमा यो प्रक्षेपण गरिएको हो,’ उनले भने, ‘अबको तीन महिना कोभिडले कुनै असर गर्दैन भन्ने हाम्रो अनुमान हो।’

सरकारले चालु वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो। विश्व बैंक लगायतका दातृ निकायले भने चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा तल हुने प्रक्षेपण गरेका थिए। तर विभागले विदेशी दातृ निकायले भन्दा झन्डै दुई प्रतिशत बढी आर्थिक वृद्धिदर हुुने प्रक्षेपण गरेको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *