रेसुङ्गाको स्वरुप फेर्ने पाण्डेयको योजना

गुल्मी । नेकपा एमालेले रेसुङ्गा नगरपालिकाको मेयर पदको उम्मेदवारमा इन्जिनियर राजेन्द्र पाण्डेयको नाम सर्वसम्मत रुपमा टुङ्गो लगाएसंगै नागरिकमा नयाँ आशा जागेको छ । रेसुङ्गा नगरपालिकालाई केन्द्रदेखि जिल्लास्तरमा निकै चासोका रुपमा हेरिएको छ ।
गत स्थानीय तहको निर्वाचनमा एमालेले मेयर र उपमेयरसहित पाँच वडा जितेको थियो । एमालेले करिव १५ दिनदेखि पाण्डेसंगै घरदैलो गरिरहेको छ ।

विकासमा विषय विज्ञता, पुरानो राजनैतिक पृष्ठभूमि भएका पाण्डेको उम्मेदवारीले पाँच बर्षमा अधुरा रहेका विकास आयोजनाको पूर्णता र आगामी विकासको नयाँ स्वरुप देख्ने आशामा नागरिक छन् ।

निजामति सेवामा ३२ बर्ष काम गरी अनुभव बटुल्नु भएका पाण्डेय शहरी विकास मन्त्रालयको सिनियर डिभिजन इन्जिनियर पदबाट सेवा निवृत हुनुभएको हो । पाण्डेयको राजनीतिमा प्रवेशले नगरको विकासमा थप आशा पलाएको छ ।अध्ययन, अनुभव र सीपका हिसावले पाण्डेय अब्बल हुनुहुन्छ । नेपाल निजामति संगठनको आन्दोलनमा ०४८ सालमा पाण्डेयले २८ दिन हिरासत बस्नु भएको थियो । उहाँ छ महिना निलम्बनमा समेत पर्नुभएको थियो ।

पाण्डेयले ०३५ सालमा महेन्द्र माविको प्रारम्भिक कमिटी मार्फत राजनैतिक यात्रा सुरु गर्नुभएको थियो । अनेरास्ववियु हुँदै निजामति सेवामा प्रवेश गरेपछि पाण्डेयले कर्मचारी संगठनका विभिन्न पदमा रहेर पेशागत र राजनीतिक अधिकारका लागि संघर्ष गर्नुभएको थियो ।
रेसुङ्गा नगरपालिकाका नागरिकको माया र स्नेह बोकेर सेवानिवृत जीवन राजनैतिक र सामाजिक कार्यमा प्रयोग गर्ने सोचमा आफूलाई सवैको आशिर्वादको खाँचो रहेको पाण्डेयले वताउनुभयो ।उहाँले नेपालभर विकासका पूर्वाधारमा काम गरेको अनुभव र उर्जा रेसुङ्गा नगरपालिकामा देखाउने आफ्नो सपना नागरिककले पूरा गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
एमाले नेतृत्वमा रेसुङ्गामा भएका काम
गत स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित नगरप्रमुख डिल्लीराज भुसाल र उप प्रमुख सीता भण्डारी सहित छ वडाका अध्यक्ष र सदस्यहरु विजयी भएका थिए । बिशेष गरेर एमाले नेतृत्वमा निर्वाचित रेसुङ्गा नगरमा पाँच बर्षमा जनताका बीचमा गरेका प्रतिवद्धता ९० प्रतिशत पूरा भएका छन् ।

सुरुमा प्रतिपक्षी कांग्रेसको अवरोध, पूर्ण बहुमत नभएको, संघीयताको पहिलो कार्यान्वयन, जनप्रतिनिधिका नयाँ अनुभव र कोभिडका कारण सवै काम पूरा गर्न नसकिएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताउनुभयो । प्रतिबद्धता अनुसारका काम मध्ये सभाहल समयमै जग्गा प्राप्ति गर्न नसकिए पनि हाल आएर टेन्डर प्रक्रियामा गएको, नगरलाई स्वस्च्छ सफा राख्न फोहर व्यवस्थापन कार्य अघि बढाउँदा स्वीकार्य नभएको र धेरै प्रयत्न गर्दा पनि विकल्पको स्थान प्राप्त नभएको भुसालले बताउनुभयो ।

उहाँले केन्द्रसम्मका सडकहरु स्तर उन्नतिकै क्रममा रहेकाले नगर बस सञ्चालनमा ढिला हुन गएको बताउनुभयो । अहिले नगरका अधुरा र नयाँ काम पूरा गर्न मेयरमा इन्जिनियर राजेन्द्र पाण्डेय र उपमेयरमा रीता बराल पाण्डेयलाई एमालेले उम्मेदवार बनाएको छ ।
पाण्डेय लामो निजामति सेवाको अनुभव र विकास निर्माण र मोडल बनाउन काम गरेकाले नगरमा नविनता आउनेमा थुप्रै नागरिक आशाबादी छन् ।

जनप्रतिनिधि निर्वाचित भएर आउँदा नगरपालिकाको आफ्नो कार्यालय नभएको अवस्था थियो भने १४ वटै वडामा नयाँ व्यवस्थापन गर्नुपर्ने अवस्था थियो । अहिले १२ वडामा आफ्नै भवन, दुईवडामा भाडाको भवनबाट आधुनिक प्रविधिमैत्री चुस्त दुरुस्त सेवा प्रदान, रेसुङ्गा नगरपालिकाको मुख्य विशाल भव्य भवनबाट सेवा प्रदान भइरहेको छ ।

पहिले १४ वटै वडा गरी करिब ७०० घर खरका छानाका थिए । तर, आज सबै खरका छानाको ठाउँमा जस्तापाताले छाइएको छ भने नगरपालिका खरका छानामुक्त घोषणा गर्ने प्रक्रियामा छ । निर्वाचनमा एक घर एक धाराको प्रतिवद्धता अनुसार वडा नं. २, ४, ६, १० र १४ मा लिफ्ट खानेपानी योजना सञ्चालन एवं निर्माण अन्तिम चरणमा छन् ।

त्यसैगरी वडा नं. १, ६, ८ र ९ मा जमिनभित्रको पानी पम्प गरी वितरण गरिएको, १४ वटै वडालाई ५० औं वर्षलाई पुग्ने मझेङ खानेपानी योजना ३५ करोडको लागतमा निर्माण भइरहेको छ । जनताको सुविधाको लागि विभिन्न वडामा पानी राख्ने ५०० लि. का टंकी लागत सहभागितामा वितरण गरिएको छ । त्यस्तै पानीको अभाव वा सुख्खा सिजनमा पानी अभाव भएको क्षेत्रमा ट्याङ्करबाट पानी पु¥याउने काम पनि भएको छ । सडकतर्फ सबै वडामा सडक सञ्जाल पुगेको छ । यस अवधिमा १५ कि.मि. सडक कालेपत्रे भएको छ, १५० कि.मि. कच्ची सडक बनेको छ, सात कि.मि. ढलान, १५० कि.मि. ग्राभेल तथा ७५० कि.मि. सडक स्तरउन्नति भएको छ । तम्घास–नेटा, तम्घास–रेसुङ्गा, अर्घाखाँची जिपपार्कदेखि खाम्सेपानी सडक कालोपत्रे हुँदैछ भने तम्घास बजार सडकक्षेत्र उच्चस्तरको पुनः कालोपत्रेको प्रक्रियामा रहेको छ । त्यस्तै नगरपालिकाको सबभन्दा दुर्गम वडा नं. १४ लाई सडकबाट सहज बनाउन गर्जुरा–गौशाला–पराल्मी, गौशाला, रातामाटा स्तरउन्नति भएको छ ।
स्वास्थ्य क्षेत्रमा अब्बल नगर
स्वास्थ्य सेवातर्फ आधारभूत स्वास्थ्यसेवा भवन सात, शहरी स्वास्थ्य केन्द्र दुई निर्माण भइसकेका छन् भने १४ वटै वडाबाट खोप, पोषण, बालरोगको एकीकृत व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोग एवं कुष्ठरोग, झाडापखाला, विद्यालय स्वास्थ्य सेवा, केही रोगको निःशुल्क औषधी वितरण आदि सेवा नियमित प्रदान भइरहेको छ । गर्भवती तथा सुत्केरी महिलाहरुको नियमित जाँच एवं पाँचपटकसम्म पोषण सामग्री वितरण गरिएको छ ।

त्यस्तै तम्घास सदरमुकाममा रहेको गुल्मी अस्पताललाई अत्याधुनिक उपकरणसहित औषधी उपचारका निम्ति ५० शैयाको अपाङ्ग, बालमैत्री भवन निर्माणको कार्य भइरहेको छ । उक्त भवन निर्माण भएपछि विशेषज्ञ सेवा प्राप्त हुन गई स्वास्थ्य उपचार निम्ति बाहिर जानुपर्ने अवस्था हट्ने विश्वास लिइएको छ ।

शिक्षातर्फ यो अवधिमा विभिन्न विद्यालयका २१ वटा भवन (९५ कक्षा कोठा), शौचालय १३ वटा, खेलमैदान तीनवटा, खानेपानी १० वटा र विद्यालय कम्पाउण्ड बाल चारवटा निर्माण हुनुको साथै सम्पूर्ण मा.वि., नि.मा.वि.हरुमा क्ष्ऋत् कक्षा निर्माण भएका छन् । त्यसैगरी प्राविधिक शिक्षातर्फ पनि जोड दिइएको छ । शिक्षाको गुणस्तरमा सुधार ल्याउन शिक्षक कर्मचारीहरुलाई तालिमको व्यवस्था गरिंदै आइएको छ भने उच्च शिक्षाको विकास निम्ति रेसुङ्गा बहुमुखी क्याम्पसलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

गुल्मेलीहरुको धेरै पहिलेदेखिको सपनाको रुपमा रहेको वडा.नं. १० मा निर्माणाधीन रेसुङ्गा विमानस्थललाई तीब्रता दिई निर्माणको अन्तिम चरणमा रहेको छ । त्यस्तै विमानस्थलको मुख्य सडक देउरालीदेखि ग्राभेल भएको छ, छिट्टै कालो पत्रे हुन पहल गरिएको छ । जिल्ला सदरमुकाममा रहेको पुरानो एक मात्र किरण पुस्तकालयको अत्याधुनिक भवन निर्माण भई सोही भवनबाट सेवा सुचारु गरिएको छ ।
पर्यटन मार्फत समृद्धिमा जोड
पोखरीदेखि यज्ञशालासम्म १२ फुट चौडा ६८० मिटर आकर्षक सिंढी निर्माण भएको छ भने यज्ञशालादेखि सिद्धस्थान विष्णुपादुकासम्म पनि सोहीअनुसारको सिंढी निर्माणको अन्तिम चरणमा छ । यज्ञशालामा रहेको नारायणस्मृति भवनलाई व्यापक सुधार गरी भक्तजनहरु बस्न आवश्यक तातोपानी, सुविधायुक्त शौचालय आदिको निर्माण गरिएको छ । यज्ञशाला पश्चिम र उत्तरमा नयाँ पर्खालको निर्माण भएको छ ।
यसैगरी ऋषिको आश्रमस्थल सानो रेसुङ्गामा कलात्मक मन्दिर निर्माण हुनुको साथै पीठाधीश आश्रमसमेत निर्माण गरिएको छ ।

त्यस्तै रेसुङ्गा गोशालालाई पनि सुधार गरिएको छ । गोठभित्रै आई चितुवाको शिकार बन्नबाट गाईहरुलाई बचाउन र जाडोबाट बचाउन वरिपरिको कर्कटपाताको बारको ठाउँमा पक्की पर्खाल, नाली तथा बाटो साइडको क्षेत्रमा पक्की जालीको बार लगाइएको छ भने ठूलो पोखरीको निर्माण एवं गौसेवक तथा अन्य आगन्तुक बस्ने ठाउँको निर्माण गरिएको छ । साउने जाने कच्ची सडक निर्माण भएको छ ।
त्यस्तै रेसुङ्गा जस्तै महत्वपूर्ण अर्को पर्यटकीय स्थल अर्जुन जाने सडक सेल्फी टावर तथा आकर्षक मन्दिर, बगैंचा, पोखरी आदिको निर्माणले त्यहाँ जाने जो कोहीका मन प्रशन्न हुने गरेको छ । उनायचौरमा आकर्षक खड्ग भगवतीको मन्दिर निर्माण, ट्री–हाउस, खेल मैदान आदिको निर्माणले हाल धेरै पर्यटकको ध्यान तान्न सफल भएको छ ।

हाल विद्युत् सेवामा देखिएको अनियमितता हटाउन उनायचौरमा विद्युत सब स्टेशन निर्माणाधीन छ उक्त सबस्टेशन सम्पन्न भएपछि गुल्मी जिल्ला विद्युतको समस्याबाट मुक्त हुने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्रको विकास गरी आर्थिक उन्नतिमा सघाउ पुगोस् भन्ने उद्देश्यले गर्जुरा क्षेत्रमा पाँच करोड रुपियाँको लागतमा आधुनिक पर्यटकीय पार्क निर्माण कार्य तीब्र गतिमा हँुदैछ । सो पार्क पर्यटकको आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

तम्घास बजारस्थित भगवती मन्दिरक्षेत्रमा अत्याधुनिक कलात्मक धर्मशालाको निर्माण भएको छ । तम्घास बजारक्षेत्रमा चार करोड रुपियाँको लागतमा पक्की नालीको निर्माण गरिएको छ । कृषकहरुलाई आफ्नो उत्पादन डोकोमा बोकी आउने तथा बजारको कठिनाइ नहोस् भनी दुई शित भण्डारसहितको कृषि संकलन केन्द्रको निर्माण तथा कृषकका उत्पादन घरमै गई नगरपालिकाले खरीद गर्ने व्यवस्थाबाट धेरै कृषक लाभान्वित हुनुभएको छ । सामाजिक सुरक्षा भत्ताअन्तर्गत जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग आदि लक्षित वर्गलाई सम्बन्धित वडामै र अपाङ्ग अशक्तहरुलाई घरमै उपलब्ध गराइएको छ ।

सीप हासिल गरी स्वरोजगार बनाउन विभिन्न सीपमूलक तालिम जस्तै हेयर कटिङ, सिलाइकटाइ, प्लम्बिङ, ड्राइभिङ, वायरिङ, बेकरी, खेलौना निर्माण, साबुन बनाउने, ब्युटिपार्लर, पशु स्वास्थ्य, किशोरी आत्मरक्षा आदि तालिमको व्यवस्था गर्नुको साथै औजारसमेत उपलब्ध गराइएको छ । विपन्न परिवार निम्ति विभिन्न शीर्षकमा ८२ वटा आवास निर्माण भएका छन् ।

माथि उल्लेखितबाहेक झोलुङ्गे पुल दुई, पक्की पुल तीन, थ्रिडी पार्क निर्माण, फ्रि वाइफाई, विद्यालयका छात्राहरुलाई प्रशिक्षणसहित प्याड वितरण, प्रधानमन्त्री रोजगार मार्फत रोजगारी, दैवीप्रकोप, सेनेटरी व्यवस्थापन, आगलागीबाट बच्न दमकलको व्यवस्था, औषधी उपचार निम्ति आर्थिक सहयोग, नगरमा टेम्पो सञ्चालन स्वीकृति, किसानलाई बीउ बिजन, बिरुवा, टनेल, हातेटेक्टर पानीटङ्की आदि वितरण, फोहोरमैला तथा वातावरण संरक्षण निम्ति आर्थिक सहयोग, विभिन्न वडामा कलात्मक मन्दिर निर्माण, गर्भवती महिला अस्पताल डेलिभरि निम्ति एकतर्फी एम्बुलेन्स भाडाका निम्ति आर्थिक सहयोग लगायतका धेरै कार्यहरु अघि बढिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *