USAID

युद्धमा हस्तक्षेप गर्न खोज्नेले रुसी प्रतिक्रियाको सामना गर्नुपर्ने पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले बिजुलीको गतिमा प्रतिक्रियाको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो । उनको भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ ।

अमेरिकासहित अन्य देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन् । पश्चिमा अधिकारीहरूले युक्रेनको पूर्वी क्षेत्रमा जारी रुसी विस्तारको प्रयासमा आफूहरूले बाधा पुर्याएको बताएका छन् । गत साता रुसले युक्रेनी राजधानी किएभ वरपरका क्षेत्रहरूबाट पछि हटेर डोनबास क्षेत्र कब्जा गर्न ठूलो आक्रमण सुरु गरेको थियो ।

तर रुसी सेनालाई कठोर युक्रेनी प्रतिरोधलाई सामना गर्न गाह्रो भइरहेको छ । यसैबीच युरोपेली आयोगले रुसले पोल्याण्ड र बल्गेरियामा ग्यास निर्यात बन्द गरेर मोलमोलाइ गरेको आरोप लगाएको छ । आयोगकी अध्यक्ष उर्जुला फोन्देर लायनले उक्त घटनाले आपूर्तिकर्ताका रूपमा रुसको अविश्वसनीयतालाई देखाउने बताइन् ।

क्रेम्लिनले चाहिँ पश्चिमा राष्ट्रहरूको शत्रुतापूर्ण व्यवहारका कारण आफू त्यस्तो कदम चाल्न बाध्य भएको दाबी गरेको छ । रुसी रुबलमा भुक्तानी दिन अस्वीकार गरेपछि रुसी ग्यास कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति बन्द गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *