अल्मुताइरीसँगको मनमुटावका कारण १० खेलाडीले छाडे प्रशिक्षण

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका १० सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग मनमुटावका कारण बन्द प्रशिक्षण छाडेका छन् ।

रोहित चन्दसहित १० खेलाडीले मंगलबार राति नै खेलाडी टिमलाई राखिएको वर्ल्ड ट्रेड सेन्टरको होटल छाडेका थिए । ती सबै खेलाडी त्यसअघि टिम बैठकमा भने सामेल थिए ।

होटल छाडेर जाने प्रमुख खेलाडीमा रोहितसँगै विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई र विमल घर्तीमगर रहेका छन् ।

तिनको स्थानमा प्रशिक्षक अल्मुताइरीले बुधबारको प्रशिक्षणमा नयाँ खेलाडी बोलाइसकेका छन् । नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले १० खेलाडीले बन्द प्रशिक्षण छाडेको पुष्टि गर्दै के कस्तो कारणले उनीहरूले त्यस्तो गरेका हुन् भनेर प्रस्ट नभएको बताए ।

टिमसँगै होटलमा रहेका व्यवस्थापन समूहका कृष्ण मानन्धरले खेलाडी पहिलो पटक यसरी बाहिरिएको जानकारी दिएका छन् । उनकाअनुसार उनले प्रशिक्षण छाडेर गएका खेलाडीलाई सम्पर्क गर्न खोजे पनि सम्पर्क नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *