आइजिपीको दौडमा चार एआइजी

काठमाडौं । निर्वाचनको मुखमा नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री यही वैशाख १९ गते अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीबीच आइजिपीका लागि प्रतिस्पर्धा सुरु भएको छ।

आइजिपी थापासँगै एआइजीहरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र वसन्तकुमार पन्तसमेत अवकाशमा जाने भएका छन् भने बाँकी रहेका एआइजी विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुकबीच आइजिपी बन्न प्रतिस्पर्धा सुरु भएको हो। वैशाख १९ गते नेपाल प्रहरीले २९औं आइजिपी पाउनेछ।

प्रहरी नियमावली २०७१ को नियम ४१ मा प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था छ।

नेपाल प्रहरीकै इतिहासमा पहिलो पटक फरकफरक मितिमा एआइजीमा बढुवा भएका व्यक्तिहरूबीच आइजिपी बन्न प्रतिस्पर्धा हुँदैछ। विश्वराज पोखरेल २०७७ मंसिर २४ गते, सहकुल थापा २०७८ असार २१ गते, धिरजप्रताप सिंह र रवीन्द्र धानुक २०७८ चैत १७ गते एआइजीमा बढुवा भएका हुन्। एआइजी पोखरेल सिंह र धानुकभन्दा १८ महिना र थापाभन्दा ८ महिनाअघि बढुवा भएका थिए। वरिष्ठताका आधारमा पछिल्ला दिनमा सिंह र धानुकको प्रतिस्पर्धा केही कमजोर भएको देखिन्छ।

सरकारले प्रतिस्पर्धीहरूको ट्र्याक रेकर्ड समेत केलाउन थालेको छ। पछिल्लो पटक ईश्वरबाबु कार्कीले दायर गरेको रिट निवेदनमा सुनुवाइका क्रममा सर्वोच्च अदालतले विगतको ट्र्याक रेकर्डलाई ध्यान दिनुपर्ने उल्लेख गरेको थियो। अहिले आइजिपीको दौडमा रहेका चार एआइजीको विगतको ट्र्याक रेकर्ड हेर्ने हो भने तीनजना एआइजीको ग्रेड रोक्का, तलब रोक्का, बढुवा रोक्का र निलम्बनसमेत भएको छ। ट्र्याक रेकर्ड राम्रो नभएको, कारबाहीमा परेको व्यक्तिलाई संगठन प्रमुख बनाउन नहुने सुरक्षा अधिकारीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *