ग्यास अभाव कायमै, सहज हुन अझै एक साता

काठमाडौं। पछिल्लोपटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहनुपरिरहेको छ । बजारमा मागअनुसारको आपूर्ति नभएका कारण हाल उपभोक्ताले एक सिलिन्डर खाना पकाउने ग्यास लिन झन्डै डेढ सातासम्मको पालो पर्खिरहनुपरेको छ ।

गत चैतमा व्यवसायीले गरेको आन्दोलनले बजारमा अभाव भएको खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुन अझै एक सातासम्म कुर्नुपर्ने भएको छ ।

चैत महिनामा राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेका कारण अहिलेसम्म काठमाडौं उपत्यकालगायत देशैभर बजारमा ग्यासको अभाव कायमै छ । बढाईएको मूल्य तिर्दा पनि अझै उपभोक्ताले एक सिलिन्डर ग्यास पाउन ग्यास डिपोहरूमा झन्डै एकदेखि डेढ सातासम्मको भाका कुनुपर्ने बाध्यता छ ।

पहुँच हुनेहरूले भने ग्यास विक्रेतालाई बढी पैसा बुझाएर छिटै पाउने गरे पनि निम्न आय भएका सामान्य वर्गका उपभोक्तालाई अझै एक सिलिन्डर ग्यास पाउन निकै सास्ती भोग्नुपरिरहेको अवस्था छ । हाल ग्यास लिन जाने उपभोक्तालाई विक्रेताले सिलिन्डर छोडेको एकदेखि डेढ साताभित्रमा मात्र ग्यास दिन सक्ने बताउँदै आएका छन् ।

यही अभावको मौका छोपेर केही विक्रेताहरूले आफूसँग भएका ग्यास लुकाउने र थप कृत्रिम अभावको बहाना बनाएर उपभोक्तालाई अनावश्यक दुःख दिने र बढी पैसा असुल्ने काम गरिरहेका छन् ।

ढुवानी कमिसन बढाउन माग राख्दै आन्दोलित भएका व्यवसायीले गत ५ देखि १५ चैतसम्म ग्यास ढुवानी नै रोकेका थिए । त्यसको प्रभाव अहिलेसम्म बजारमा देखिइरहेको आमउपभोक्ताको गुनासो छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *