म्हेपी मन्दिर पछाडिको जंगल र सपनतीर्थ वनमा लागेको डढेलो नियन्त्रणमा

काठमाडौं । काठमाडौंको म्हेपी मन्दिर पछाडिको जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ । प्रहरी वृत्त लैनचौरबाट प्रहरी नायव उपरीक्षकसहितको ३० जनाको प्रहरी टोली, स्थानीयवासी, महानगरपालिकाको बारुण यन्त्र, दुई वटा पानी ट्याङ्करको सहयोगमा डढेलो नियन्त्रणमा आएको हो ।

त्यस्तै मंगलबार नै टोखास्थित सपनतीर्थको सामुदायिक वनमा दिउँसो लागेको डढेलो समेत प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । त्यस्तै शिवपुरी राष्ट्रिय निकुञ्जमा लागेको आगो ने निभाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रभाग बूढानीलकण्ठ, कपन र प्रहरी वृत्तबाट गएको प्रहरी टोली, शिवपुरी राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको भवानी दलको नेपाली सेना, सशस्त्र प्रहरी बल, बुढानीलकण्ठ नगरपालिकाको प्रहरी र स्थानीय बासिन्दा सम्मिलित टोली, २ वटा दमकल र २ वटा पानी ट्याङ्करको प्रयोग गरी डढेलो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाटसमेत पानी हालिएको प्रहरीले जनाएको छ ।

फोटो र भिडियोः नेपाल प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *