उम्मेदवारी दर्तामा अभूतपूर्व उत्साह

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिका बमोजिम वैशाख ११ र १२ गते गरी दुई दिन मनोनयन दर्ता भएको हो ।

निर्वाचन आयोगका अनुसार केही स्थानमा सामान्य विवादबाहेक देशैभरि शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन दर्ता भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “मनोनयन दर्ता सकिएको छ, देशैभरिबाट प्रमाणीकरण भइआएका उम्मेदवारको सूचीलाई आयोगले एकीकृत गर्दैछ ।” उनले कुल उम्मेदवारको सङ्ख्या मङ्गलबार मात्रै स्पष्ट हुने बताए। यद्दपि सोमबार राति अबेरसम्म ९५ हजार ८९० जना उम्मेदवारको नाम आयोगको एकीकृत सूचीमा प्रविष्ट भएको छ ।

आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार सोमबार रातिसम्म नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको प्रमुखमा दुई हजार ८८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये ९५२ जनाले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षमा दुई हजार ७६७ मध्ये ८१७ जनाले स्वतन्त्र भएर उम्मेदवारी दिएका छन् । आयोगका अनुसार उपप्रमुखमा एक हजार ६१२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये ३०३ जना स्वतन्त्र हैसियतमा छन् ।

गाउँपालिका उपाध्यक्षमा एक हजार ९१० जनाले उम्मेदवारी दर्ता गराएकोमा २८३ जना स्वतन्त्र हैसियतमा छन् । वडाध्यक्षका लागि २३ हजार २६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार हजार १३३ जना स्वतन्त्र भएर वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

आयोगका सहसचिव श्रेष्ठले महिला सदस्यमा १६ हजार १९ जना, दलित सदस्यमा १४ हजार ३३८ र सदस्य पदका लागि ३३ हजार ३९३ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

आयोगले देशभरिबाट करिब दुई लाख पचास हजारभन्दा बढी उम्मेदवारी दर्ता हुने अनुमान गरेको छ । आयोगको तथ्याङ्क अनुसार २०७४ सालको स्थानीय चुनावमा उम्मेदवारको अन्तिम नामावलीबमोजिम एक लाख ४८ हजार ३६४ जना उम्मेदवार भएका थिए । २०७४ सालको स्थानीय चुनावको भन्दा करिब ३६ लाख मतदाता बढेका छन् । मतदाताको सङ्ख्यामा वृद्धि भएको र स्थानीय सरकारप्रतिको आकर्षणले उम्मेदवार अघिल्लो चुनावको भन्दा यस पटक उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ ।

यस पटकको निर्वाचनबाट ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *