USAID

युनाइटेडमाथि आर्सनलको शानदार जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले शानदार जीत निकालेको छ । शनिबार बेलुकी घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोलले पराजित गर्दै आर्सनल लिगको शिर्ष ४ मा उक्लिएको हो ।

इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जीत दिलाउन नुनो टाभारेस, बुकायो साका र ग्रान्ट जाकाले एक/एक गोल गरे । युनाइटेडको लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । खेलको तेस्रो मिनेटमै टाभारेसले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । युनाइटेडका फुल ब्याक एलेक्स टेलेसले साकालाई डि-बक्स एरियामा लडाएपछि घरेलु टोलीले पेनाल्टी पाएको थियो ।

३४ औं मिनेटमा म्याटिकको क्रसमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ५७ औं मिनेटमा ब्रुनो फर्नान्डेज पेनाल्टीमा चुक्दा युनाइटेडले खेलमा बराबरी गर्ने मौका गुमाएको थियो । यस्तै ७० औं मिनेटमा इलनेको पासमा जाकाले गोल गर्दै आर्सनललाई ३-१ गोलको जीत दिलाए ।

जीतसँगै आर्सनल ३३ खेलबाट ६० अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित युनाइटेड ३४ खेलबाट ५४ अंकको साथ छैटौं स्थानमा यथावत छ । हारसँगै युनाइटेडको शिर्ष चारमा उक्लिने सम्भावना कठिन बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *