बार्सिलोना र वोल्फ्सवर्गबीचको खेल हेर्न कीर्तिमानी दर्शकको उपस्थिति

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा महिला च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र वोल्फ्सवर्गबीच भएको खेलमा कीर्तिमानी दर्शक उपस्थित भएका छन् । महिला च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत शुक्रबार राति भएको खेल हेर्न रंगशालामा विश्व कीर्तिमानी ९१ हजार ६ सय ४८ दर्शन उपस्थित भएका हुन् ।

सेमिफाइनल अन्तर्गत भएको उक्त खेलमा बार्सिलोनाले वोल्फ्सवर्गलाई ५-१ गोलले पराजित गर्दै फाइनल प्रवेश गर्ने बलियो सम्भावना बनाएको हो । घरेलु मैदानमा भएको खेलमा टोलीलाई जीत दिलाउन एलेक्सिया पुटेल्लासले दुई गोल गर्दा कारोलिने ग्राहम हान्सेन, जेनिफर हेर्मोसो र एटाना बोन्माटीले एक/एक गोल थपे ।

यसअघि गत महिना मात्र रियल म्याड्रिड र बार्सिलोनाबीच भएको महिला ‘एल क्लासिको’मा ९१ हजार ५ सय ५३ दर्शकले खेल हेरेका थिए । ‘एल क्लासिको’ भन्दा अगाडि सन् १९९९ मा भएको महिला विश्वकप अन्तर्गत अमेरिका र चीनबीच भएको खेलमा ९१ हजार १ सय ८५ दर्शक उपस्थित भएका थिए ।

पछिल्लो खेलहरुमा पुरुष टोलीको खेल हेर्न बार्सिलोनाका समर्थक खासै मैदानमा आउन चासो नदेखाएको अवस्थामा महिला टोलीको खेल हेर्न भने दर्शक ओहिरिएका छन् । बार्सिलोनाको पुरुष टोली च्याम्पियन्स लिगको समूहचरण र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको थियो भने घरेलु लिगपनि लगभग गुमाइसेको छ ।

यता महिला टोलीले भने घरेलु लिगको उपाधि उचाल्ने निश्चित छ भने लगातार दोस्रो वर्ष च्याम्पियन्स लिग उचाल्ने दाउमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *