चिम्पान्जीको जोडीलाई स्वतन्त्रता

काठमाडौं । मान्छेका व्यवहारसँग धेरै कुरा मिल्ने एक जोडी चिम्पान्जीले झण्डै चार वर्षपछि सुविधा सम्पन्न बासस्थान पाएका छन् । वनमान्छे चिम्पान्जीको एक जोडीलाई जावलाखेलस्थित सदर चिडियाखानाभित्र सुविधा सम्पन्न आवास गृह निर्माण गरी त्यहाँ सारिएको हो । यसअघि ती जोडी सानो खोरमा थिए ।

सुविधा सम्पन्न बासस्थानमा चिम्पान्जीको जोडीलाई खटिया, लुगाफाटोको व्यवस्था छ । खाना खाने थाल अनि पानी पिउने छुट्टै भाँडाकुँडा छन् । गर्मी ठाउँमा हुर्कने यो चिम्पान्जीको जोडीलाई राति सुत्ने ठाउँमा वातानुकूलित बनाइएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले संयुक्त रूपमा आवासगृहको उद्घाटन गर्दै सो गृहमा ती चिम्पान्जी जोडीलाई खुला गरेका हुन्।

विशेष गरेर दक्षिण अफ्रिकी मुलुकका जङ्गलमा पाइने यो प्रजातिका दुईवटा बच्चालाई अवैध रूपमा नेपाल ल्याएर किनबेच गर्न थालेको अवस्थामा २०७४ साल असोज ३१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उद्धार गरेको थियो । उद्धार गरिएका बच्चालाई पालन पोषण गर्ने जिम्मा सदर चिडियाखानालाई दिएको थियो ।

सानो खोरमा झण्डै चार वर्ष हुर्केपछि युवा भएका चिम्पान्जीलाई सुविधा सम्पन्न गृहमा राखिएको हो । उद्धार गर्दा भाले बच्चा तीन महिनाको साढे तीन केजी तौल भएको र पोथी बच्चा छ महिना उमेरको चार केजी तौलको थियो । अहिले भालेको तौल २१ केजी र पोथीको २४ केजी छ ।

चार वर्षदेखि चिम्पान्जीको हेरचाहमा संलग्न सदर चिडियाखानाका कर्मचारी रामकाजी पहरीका अनुसार राति अँध्यारो भएपछि ओछ्यानमा सुत्न जान्छन् । पहरीका अनुसार, ‘‘हेर्दा जनावर हो तर बानी व्यवहार सबै मान्छेको जस्तै लाग्छ । बोल्न नसक्ने भए पनि माया गर्ने, दुःख पर्दा रुने अनि एकअर्कासँग जिस्किने बानी मानिसको जस्तै हुँदो रहेछ ।’’

पहरीका अनुसार भाले कान्छो र पोथी जेठो उमेरको भएकाले पोथी चिम्पान्जीले भालेलाई काखमा राखेर माया गर्छे र भालेले पोथीको लालित्यमा रमाउने गर्छ । सानो बच्चा अवस्थामा सिकाएका सबै कुरा अनुसरण गर्न सफल यो जोडी खेल्दा होस् वा ओछ्यानमा जहिले पनि सँगै बस्ने गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *