कहाँ हराउँछ ग्यास?

काठमाडौं, बैशाख ७ । नेपाल आयल निगमले सामान्य अवस्थाको तुलनामा अचेल झन्डै दोब्बर ग्यास आपूर्ति गरिरहेको छ । सामान्य अवस्थामा दैनिक औसत ७० बुलेटसम्म आपूर्ति हुने गरेकोमा निगमले अहिले दैनिक औसत १३५ बुलेटसम्म ग्यास आपूर्ति गरिरहेको छ । उद्योगले पनि उत्पादन बढाएको अनुगमनको क्रममा देखिएको छ । तर, बजारमा अभाव छ । एक सिलिन्डर ग्यास लिन १ हप्तासम्म कुर्नुपरेको उपभोक्ताको गुनासो छ ।

निगमको ग्यास वितरण विभाग प्रमुख नेत्र काफ्लेका अनुसार अहिले ग्यास उपभोगको हिसाबले अफसिजन हो । गर्मीमा ग्यासको खपत तुलनात्मक रूपमा कम हुने भएकाले विगतमा यो बेला दैनिक ७० देखि ८० बुलेट ग्यासका लागि उद्योगीले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन्थे । गत ६ चैतदेखि ग्यास उद्योगीले ढुवानी भाडा बढाउन माग गर्दै पीडीओ नउठाउँदा ग्यास आपूर्तिमा समस्या आएको थियो । १९ चैतसम्म पीडीओ नलिएका उद्योगीले २० चैतदेखि लिन थाले ।

त्यसपछि सामान्य अवस्थाको तुलनामा झन्डै दोब्बर पीडीओ उठाइरहेका छन् । निगमका अनुसार ग्यास उद्योगीले दैनिक १२५ देखि १३५ बुलेटसम्मको पीडीओ उठाइरहेका छन् । तर, उपभोक्ताले सहजै पाइरहेका छैनन् । काठमाडौंको बबरमहलमा बसोवास गर्ने श्रमन श्रेष्ठले १ सातासम्म ग्यास नपाएपछि सम्बन्धको आधारमा आरुबारीबाट ल्याएको बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पनि ग्यास नपाएका गुनासाहरू दैनिक आइरहेका छन् । विभागका सहायक सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार विभागमा अहिले दैनिक औसत २ देखि ३ ओटा ग्यास नपाएका गुनासा आइरहेका छन् । निगमले पनि बजारमा ग्यास सहजै पाउन नसकेको स्वीकार गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *