समयमा सामान नदिने आपूर्तिकर्तालाई कारबाही गरिने

काठमाडौं। निर्वाचन आयोगले मतदानका लागि आवश्यक सामग्री समयमै आपूर्ति नगरेका आपूर्तिकर्तामाथि कारबाहीको तयारी गरेको छ । वैशाख ३० गते हुने मतदानका लागि मतपेटिका, पूर्ण परिमाणमा छेकबारा, कलमसहित सामग्री अझै आइसकेको छैन ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “सामग्री प्राप्त नभएको आपूर्तिकर्ताको म्याद थप्ने हो वा जरिवाना लगाउने हो आयोग पदाधिकारीको बैठकले निर्णय गर्नेछ ।” आयोगले ७८ हजार थान छेकबारा र २५ हजार थान ठूलो आकारका मतपेटिका आपूर्ति गर्न सम्झौता गरेको थियो । उनले छेकबारा, मतपेटिका, कलमसहित अन्य केही साना आकारका सामग्री आउन बाँकी रहेको बताए ।

मतपेटिका अझै आइसकेको छैन । मतपेटिकाको समयसीमा अझै बाँकी नै छ । छेकबारा भने आंशिक रूपमा आएको छ । ७८ हजार थान छेकबाराका लागि आयोगले करिब १२ करोड रुपैयाँ खर्चिंदैछ ।

आयोग पदाधिकारीको फागुन १४ गते बैठकले छेकबारा आपूर्तिसम्बन्धी बोलपत्र स्वीकृत गरेको थियो तर बोलपत्र कबोल गरेको ‘गैबियोनेट इन्भारनमेन्ट सोल्युसन प्रालि’ सँग फागुन अन्तिम साता मात्रै सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिम आपूर्तिकर्ताले बढीमा वैशाख ३ गतेभित्र सामान आपूर्ति गरिसक्नुपर्ने हो ।

प्रवक्ता पौडेलले भने, “आंशिक रूपमा छेकबारा आएको हो, सामग्री तोकिएको सीमाभित्र नआए पनि काम बिग्रिने अवस्था छैन ।” आपूर्तिकर्ताले छेकबारा चीनबाट आयात गर्दैछ । कोभिड–१९ को महामारीले चीनका केही सहर लकडाउनमा छन् । आयोगले सामग्री आपूर्तिमा सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयमार्फत काठमाडौँस्थित चीनको दूतावासलाई यसअघि आग्रहसमेत गरेको थियो ।

मतपेटिका आपूर्तिका लागि आयोगले १० दिनभित्र प्रस्ताव पेस गर्न आह्वानसहित चैत ७ गते बोलपत्र मागेको थियो । सम्झौता भएको मितिले २५ दिनभित्र मतपेटिका आयोगमा बुझाइसक्नुपर्नेछ । आयोगले आपूर्तिका लागि फागुन ८ गते आह्वान गरेको २३ प्रकारका सामग्रीमध्ये अधिकांश आइसकेका छन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *