माओवादी कार्यकर्ताद्वारा वीरगञ्जमा आफ्नै कार्यालय तोडफोड

वीरगञ्ज । नेकपा माओवादी केन्द्रका पर्साका असन्तुष्ट कार्यकर्ताले आफ्नै कार्यालयमा तोडफोड गरेका छन्। पार्टीका असन्तुष्ट पक्षले वीरगञ्जको राधेमाईस्थित रहेको कार्यालयमा तोडफोड गरेको हो ।

पार्टीको जिल्ला नेतृत्वको गतिविधिलाई लिएर असन्तुष्ट बनेका अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख सचिव जुवेर आलम, पार्टीको वीरगञ्ज महानगर उपाध्यक्षद्वय अनीरुद्ध यादव र जुमादीन अन्सारी, वडा कमिटी अध्यक्ष हिरा अन्सारी, छोटेलाल कुर्मीलगायतले कार्यालयमा तोडफोड गरेको आरोप छ ।

उनीहरु आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले गठन गरेको जिल्ला समन्वय समितिको गतिविधिप्रति असन्तुष्टि जनाउँदै ध्यानाकर्षण पत्र बुझाउन गएका थिए। ध्यानाकर्षणपत्र बुझाउन जाँदा विवाद भएपछि आक्रोशमा आएका उनीहरु तोडफोडमा उत्रिएका थिए ।

तोडफोडपछि उनीहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । तोडफोडबाट कार्यलयमा रहेको टेबल, कुर्सी, सोफालगायतका सामग्रीमा क्षति पुगेको माओवादी केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *