गोरखा, चैत २९ । आर्थिक समस्या र त्यसमाथि गाउँसम्म सडक सञ्जाल नपुग्दा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमकी उमा गुरुङको उपचारक्रममा यही चैत २४ गते काठमाडौँमा मृत्यु भयो । शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने निर्णय परिवारका सदस्यले गरे । तर, काठमाडौँबाट गाउँमा शव लैजान आफन्तलाई धौ–धौ प(यो ।
हेलिकोप्टर चार्टर गर्न रकम अभाव भएकाले आफन्त सकसमा परेका हुन् । “अन्त्येष्टिका लागि शव गाउँमै लैजाने कुरा भयो । तर, आर्थिक समस्याले हेलिकोप्टर चार्टर गर्न सकिएन,” स्वर्गीय उमाका आफन्त नवीन गुरुङले भने, “आफन्त र काठमाडौँमा बस्ने गोरखालीसँग सहयोग मागेर रकम जुटायौँ ।”
सुरुमा उनलाई गोरखाकै सिर्धीबास स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि एक लाख ४० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरी उमालाई काठमाडौँ लगिएको थियो । काठमाडौँ पुग्नेबित्तिकै उनको मृत्यु भएपछि पुनः एक लाख ६० हजार रुपैयाँ जुटाएर शव गाउँ पठाउने बाध्यतामा आफन्त परेका थिए । गोरखापत्र दैनिकबाट