पनौतीमा १२ वर्षमा लाग्ने ‘हरसिद्धि जात्रा’ सुरु

काभ्रे । काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा आजदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ ।

हरसिद्धि पाटीमा राखेर पूजा गरी त्यहाँबाट त्रिवेणीघाटमा रहेको वासुकी नागमा जल चढाएर थुमा (भेडा)को बली चढाई पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पुर्याएर राख्ने चलन रहेको जात्राका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यले बताए ।

उनका अनुसार भोलि बिहानैदेखि नाचगान सुरु हुने र पर्सिको दिन जात्रा समापन गरी वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात देवगणहरु फर्किने कार्यक्रम रहेको छ । ६० वर्षदेखि पनौतीमा पनि मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तररूपमा मनाउन नसकेको अवस्थामा सोमबारदेखि पुनः जात्रा सुरु भएको जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।

यसअघि २०६६ सालमा जनसहभागिताबाट रकम सङ्कलन गरेर भव्यरूपमा जात्रा सञ्चालन गरेकोमा त्यसको ठीक १२ वर्षपछि आजदेखि जात्रा सुरु भएको जात्रा मूल व्यवस्थापन समितिका संयोजक सुरेश सैँजुले बताए ।

उनका अनुसार जात्रा सञ्चालनका लागि पनौती नगरपालिकाबाट १५ लाख प्राप्त गरिसकेको र नपुग रकमका लागि आजीवन सदस्यता शुल्कको प्राप्त ब्याजबाट व्यवस्थापन गर्ने गरी जात्रा सञ्चालन भइरहेको हो ।

त्रिशक्ति हरसिद्धिको पनौतीमा बास रहुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ । करिब दुई हजार वर्ष पहिले प्रारम्भ भएको मानिने हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले आफ्नै भिन्न पहिचान भएको प्राचीन नगर पनौती विशेषगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुको एक तीर्थस्थलका साथै यहाँका सांस्कृतिक एवं पुरातात्विक सम्पदाको हिसाबले पनि खुला जीवित सङ्ग्रहालयको रूपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *