इन्जुरी समयमा दुई गोल गरेपछि सेभिल्लाको पुनरागमन जीत

एजेन्सी । इन्जुरी समयमा दुई गोल गरेपछि सेभिल्लाले स्पेनिस लिग ला लिगामा पुनरागमन जीत निकालेको छ । शुक्रबार राति भएको खेलमा ग्रानाडालाई ४-२ गोलले पराजित गर्दै सेभिल्ला लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

इस्टेडियो रामोन सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्लालाई जीत दिलाउन डिएगो कार्लोस, लुकास ओकाम्पोस, राफा मिर र अलेजान्ड्रो गोमेजले एक/एक गोल गरे । ग्रानाडाको लागि डार्विन माचिस र भिक्टोर डियाजले एक/एक गोल गरे । २३ औं मिनेटमा सुआरेजको पासमा माचिसले गोल गर्दै ग्रानाडालाई शुरुवाती अग्रता दिलाएका थिए ।

३२ औं मिनेटमा नाभासको क्रसमा कार्लोसले गोल गर्दै सेभिल्लालाई बराबरीमा ल्याए । ६६ औं मिनेटमा कोरोनाको पासमा ओकाम्पोसले गोल गर्दै सेभिल्लालाई २-१ गोलको अग्रता दिलाए । ८८ औं मिनेटमा मिल्ला क्रसमा डियाजले गोल गरेपछि खेल बराबरीतर्फ धकेलिएको थियो । तर इन्जुरी समयको तेस्रो मिनेटमा मिरले गोल गर्दै सेभिल्लालाई ३-२ गोलको अग्रता दिलाए ।

यस्तै इन्जुरी समयको नवौं मिनेटमा टोरेसको पासमा गोमेजले गोल गर्दै सेभिल्लालाई ४-२ गोलको जीत दिलाए । जीतसँगै सेभिल्ला ३१ खेलबाट ६० अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित ग्रानाडा समान खेलबाट २९ अङ्कको साथ १६ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *