निगमको जहाजको टायर पड्किएको विषयमा अध्ययन गर्न उपसमिति गठन

काठमाडौँ । थाइल्याण्डको बैंककबाट शुक्रबार काठमाडौं उड्ने क्रममा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा पाङ्ग्रामा देखिएको प्राविधिक समस्याबारे अध्ययन गर्न नेपाल वायुसेवा निगमले छानबिन उपसमित गठन गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी निगमले आफ्नो क्वालिटी एसुरेन्स विभागका निर्देशक विक्रम केसीको संयोजकत्वमा ७ सदस्यीय छानबिन उपसमिति गठन गरेको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘निगमको आरए–४०२ बैंकक काठमाडौं नियमित उडानमा रहेको न्यारोबडी विमान शुक्रबार बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएपश्चात् पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक चेकजाँच गरिएको थियो । थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको ०४ वटै पाङ्ग्रा फेर्नुपर्ने सुझाव दिएअनुसार फेर्नुपर्ने आवश्यक पाङ्ग्राहरु कतार एयरवेजको विमानमार्फत शनिबारको उडानबाट पठाई आइतबार बिहान बैंकक पुर्याएर उक्त विमानको मर्मत गरिएको थियो ।’

निगमका अनुसार,रद्द गरिएको उक्त उडानका १ सय ४१ यात्रुहरुलाई चार दिनपछि सोमबार निगमकै नियमित उडानबाट काठमाडौं ल्याइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *