नेपाललाई त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधि

काठमाडौं । युवा अलराउन्डर दीपेन्द्र सिंह एरीको अलराउन्ड प्रदर्शनको मद्दतमा नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधि जितेको छ । सोमबार कीर्तिपुरमा भएको फाइनल खेलमा पीएनजीलाई ५० रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा लगातार दोस्रो टि-२० आई सिरिजको उपाधि उचालेको हो ।

जीतको लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.२ ओभरमा १ सय १८ रनमै समेटिएको हो । पीएनजीको लागि सेसे बाउले अर्धसतक पूरा गरेपनि टोलीलाई जीत दिलाउन सकेनन् । उनले ३८ बलमा ६ छक्का र १ चौका प्रहार गरे । चार्लेस अमिनीले १४ बलमा २ चौकाको मद्दतमा १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

पीएनजीलाई सस्तैमा समेट्न नेपालको लागि दीपेन्द्र सिंह एरी ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । यस्तै करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिँदा सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन जोडेको थियो । नेपालको लागि दीपेन्द्र सिंह एरी र करण केसीले अन्त्यमा बिस्फोटक ब्याटिङ गर्दै नेपाललाई मध्यम स्कोरमा पुर्याएका हुन् । दीपेन्द्रले ३८ बलमा ५ चौकाको सहयोगमा ५४ रन जोडे । यस्तै करण केसीले १२ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाउँदा असिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहम्मद र आदिल अलामले १५ रनको योगदान गरे ।

पीएनजीको लागि सेमो कामेआले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिँदा चद सोपेर, काबुअ मोरेआ र रिले हेकुरेले एक/एक विकेट लिए ।

जीतसँगै नेपालले अपराजित रहँदै घरेलु मैदानमा लगातार दोस्रो टि-२० आई सिरिज जितेको हो । यसअघि गत वर्ष नेपालले कीर्तिपुरमै नेदरल्यान्ड्स र मलेसिया सम्मीलित त्रिकोणात्मक टि-२० आईको सिरिज जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *