घोराहीमा ‘एक वडा एक स्वास्थ्य केन्द्र’ कार्यक्रम सफल

देउखुरी । दाङको घोराही–१० नाराणपुरस्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सामान्य उपचार गर्न र औषधि लिन आएका ७८ वर्षीय जगवीर चौधरीलाई निकै सहज भएको छ । उनले आफ्नो नजिकैको स्वास्थ्य केन्द्रबाट नियमित उपचार लिइरहेका छन् । पहिले सामान्य उपचार गर्न उनलाई घोराही नै जानुपर्ने बाध्यता थियो ।

उनले रक्तचापको औषधि स्वास्थ्य एकाइबाट निःशुल्क पाएका छन् । “मलाई राम्रो भएको छ, । कहिलेकाहीँ केन्द्रमा औषधि सकिएको बेला भने किन्नुपर्छ”, उनले भने, “लामो समयदेखि नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट सेवा लिन पाउँदा म खुसी छु । ”

नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख डिल्ली आचार्यले २०७४ सालमा जनप्रतिनिधि आएपछि स्थापना भएको संस्थाबाट ४० प्रकारका औषधि निःशुल्क तथा दीर्घरोगी, रक्तचाप, सुरक्षित मातृत्व सेवा, आमा र शिशुलाई खोप सेवा दिने गरिएको बताए । केन्द्रमा छैटौँ तहका एक इन्चार्ज, पाँच नर्स र एक पाँचौँ तहका आयुर्वेदिक चिकित्सकले सेवा दिइरहेका छन् ।

मासिक २५ जनालाई सुत्केरी सेवा र गर्भवती जाँचका लागि प्रयोगशाला सेवा पनि दिने गरिएको छ । अहिले ८० क्षयरोगका बिरामीले प्रत्यक्ष निगरानीमा औषधि लिइरहेका छन् । भिडियो एक्सरेको सेवा थप गर्न सकेमा यहाँ आएका बिरामीलाई सेवा दिन सकिने उनको भनाइ छ ।

केन्द्रको सेवाबाट नागरिकलाई निकै सहज भएको भाइरल ज्वरोपीडित इन्दु पोखरेलले बताइन् । “रामपुरमा रहेको स्वास्थ्य केन्द्रले हामीलाई निकै सहज भएको छ”, उनले भनिन् । पहिले गाविसमा हेल्थपोष्ट रहेको र अहेवका भरमा सञ्चालन भएकाले सामान्य रुघाखोकी लागेमा, ज्वरो आएमा रक्तचाप जाँच गर्नुपरेमा घोराहीका अस्पताल धाउनुपथ्र्यो ।

केन्द्रको स्तरोन्नति भएपछि चिकित्सकसहितको सेवा निःशुल्क पाइएको उनले बताइन् । केन्द्र रामपुरका प्रमुख भुवनेश्वर रिजालका अनुसार छालाका बिरामी, ग्यास्ट्रिक, घाउखटिरा, मौसमी भाइरल आदिको उपचार सेवा दिने गरिएको छ ।

विसं २०७४ मा जनप्रतिनिधि आएपछि स्तर वृद्धि गरेर केन्द्र बनाइएसँगै सेवासुविधामा वृद्धि भएको छ । एक चिकित्सक, एक सिनियर अहेव, एक सिएमए र चार अनमीले निरन्तर सेवा दिइरहेका छन् । केन्द्रबाट ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने गरिएको छ । मासिक करिब १२ र वार्षिक १४० देखि १५० जनाले प्रसूति सेवा लिने गरेको रिजालले जानकारी दिए ।

घोराही–१४ नयाँ बजारस्थित केन्द्रमा गर्भजाँच गर्न आएकी रुपनी चौधरी औषधिका लागि बाहिर जान नपरेकामा खुसी देखिन्छिन् । सरकारीस्तरबाट खुलेका स्वास्थ्य केन्द्रबाट आफूहरूलाई धेरै सजिलो भएको उनले बताइन् । सरकारी स्वास्थ्य संस्थाले सेवा दिन थालेपछि निम्नवर्गीय नागरिक लाभान्वित भएका छन् । “पहिले स्वास्थ्य केन्द्र नहुँदा सरकारले दिने निःशुल्क सेवासमेत पाउन सकिएको थिएन । अहिले सहज भएको छ”, उनले भनिन्, “विशेष गर्भवती र सुत्केरीलाई जाँच र खोपको राम्रो सुविधा भएको छ ।”

घोराही बजारको जनसङ्ख्या धेरै भएका कारण नागरिकलाई स्वास्थ्य सुविधा लिन सजिलो होस् भनेर वडा नम्बर १४ मा केन्द्र स्थापना गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । राप्ती स्वास्थ्य प्रतिष्ठानमा बिरामीलाई लाम बस्न समस्या भएकाले बजार क्षेत्रका नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य केन्द्र स्थापना गरिएको जनाइएको छ ।

घोराही– ६ का रक्तचापका बिरामी निर्मला भण्डारीलाई सामान्य उपचार गर्न घरदेखि छ–सात किलोमिटर टाढा घोराही या साबिक गाउँपालिकाको कार्यालय सौडियारमा रहेको स्वास्थ्य केन्द्र जानुपर्ने बाध्यता थियो । उपमहानगरपालिका–६ फचकपुरमा केन्द्र स्थापना भएपछि सेवा लिन उनलाई सजिलो भएको छ । निःशुल्क औषधि पाउँदा आफू निकै खुशी भएको उनले बताइन् ।

“घोराही पुग्नुपर्ने बाध्यता टरेको छ, औषधि पनि निःशुल्क पाइन्छ”, भण्डारीले भनिन् । टाउको दुख्दा, ज्वरो आउँदा र घाउखटिरा आउँदा पनि ७५ रुपैयाँमा अटो भाडा तिरेर घोराही जानुपर्ने बाध्यता उनलाई हटेको छ । विशेषज्ञ चिकित्सकको सुविधा हुने हो भने झनै राम्रो हुने भण्डारी बताउँछिन् ।

घोराही उपमहानगरपालिकाले प्रथम नगरसभाबाट नै ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीति नै पारित गरेर प्रत्येक वडामा स्वस्थ्य सेवा पुर्याउने लक्ष्य लिइएको थियो ।

उपमहानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा घोराहीका १९ वटै वडामा स्वास्थ्य सेवा पुगेको छ । सबै स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले सेवा दिइरहेको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।

घोराहीमा अहिले २३ स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छन् । घर्तीका अनुसार उपमहानगरवासीको स्वास्थ्यका लागि ६ स्वास्थ्यचौकी, दुई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, १४ सहरी स्वास्थ्य केन्द्र र एक संस्थागत परिवार नियोजन क्लिनिक स्थापना गरिएको छ ।

साविक घोराही नगरपालिकामा एउटा सरकारी राप्ती उपक्षेत्रीय अस्पताल थियो । अन्य गाउँपालिकामा स्वास्थ्य संस्था मात्र थिए । नारायणपुर, हापुर, ढिकपुर, सौडियार, धर्ना, लक्ष्मीपुर, रामपुर सैघा र स्युजा गाविसलाई समेटेर उपमहानगरपालिका बनाइएपछि प्रत्येक वडा कार्यालयमा स्वास्थ्य संस्था निर्माण गर्ने उद्देश्यले स्वास्थ्यकर्मीसहितको सेवा सुरु गरिएको हो । साबिकका गाउँपालिकामा भएका स्वास्थ्य संस्थालाई स्तर वृद्धि गर्दै लगिएको तथा नयाँ वडा कार्यालयमा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएको हो ।

उपमहानगरपालिकाका ८ वटा वडामा जनप्रतिनिधि आएपछि स्वास्थ्य केन्द्र स्थापना भएका छन् । अन्य वडामा भने पहिले नै स्वास्थ्य केन्द्र थिए । विसं २०७४ मा स्थानीय तहको निर्वाचनपछि घोराहीमा चौधरीका नेतृत्वमा बनेको स्थानीय तहले घोराही –३ झिंनी, ६ फचकपुर, ८ मर्पाडाँडा, ९ आन्द्राभरैया, ११ शिवपुर, १३ भ्युडर सुनपुर र कमलघारी, १४ संस्थागत परिवार नियोजन क्लिनिक र नयाँ बजारमा सहरी स्वास्थ्य क्लिनिक, १५ उत्साहटोल, १६ करौँतीडाँडा, १७ हरिद्वार स्वास्थ्य केन्द्र, १८ घोरदौरा र हात्तीखर्कमा स्वास्थ्य संस्था स्थापना गरिएको नगर प्रमुख चौधरी बताउँछन् । सबै नागरिकलाई स्वास्थ्यमा पहुँचका लागि एक वडा एक स्वास्थ्य केन्द्रको नीतिअनुसार स्वास्थ्य केन्द्र स्थापनालाई तीव्रता दिइएको रसबै वडामा स्वास्थ्य सेवा पुगेको उनको भनाइ छ । उनले रामपुरमा विशेषज्ञसहितको सेवा दिनका लागि अहिले भवन निर्माणको काम भइरहेको जानकारी दिए ।

कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यका साथ स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गर्ने काम भइरहेको बताइएको छ । उपमहानगरपालिकाले ७० वर्ष पुगेका नागरिकलाई घरमै पुगेर स्वाथ्य जाँच र उपचार सेवा दिँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *