६ महिनामै ४३ प्रतिशतले बस भाडा वृद्धि

काठमाडौं। सरकारले विगत ६ महिनाको अवधिमा सार्वजनिक तथा मालवाहक यातायातका साधनको भाडामा ४३ प्रतिशतले वृद्धि गरेको छ । यसरी अस्वाभाविक रूपमा मूल्यवृद्धि भएपछि सर्वसाधारण मारमा परेका छन् ।

गत असार अन्तिममा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको सरकारले पुनः १५ प्रतिशतसम्म हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । गत असारमा तत्कालीन सरकारले मन्त्रिस्तरीय निर्णय गर्दै २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । करिब ६ महिनाको अन्तरालमा पुनः १५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागले आइतबारदेखि सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा करिब ६ महिनाको अन्तरालमा दोस्रोपटक बढाएको हो । विभागद्वारा सार्वजनिक गरिएको भाडादरअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

सरकारले पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले बढाएको छ । संघको निर्णयसँगै छोटो तथा मध्यम दूरीको सवारीसाधनको भाडा पनि वृद्धि हुने देखिएको छ ।

यसअघि, गत २७ असारमा यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा भाडादर समायोजन गर्दै लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो ।

विभागले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियो भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *