तेल अभाव हुने त्रासले उपत्यकाका पम्पहरुमा उपभोक्ताको लामो लाइन

काठमाडौं । काठमाडौँ उपत्यकाका इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौँ लाइनमा बसेर उनीहरु तेल हाल्न बाध्य भएका छन् । इन्धन अभाव हुने र मूल्य बढ्ने आशङ्काले यसरी तेल हाल्न लाइनमा बसेका सर्वसाधारणले प्रतिक्रिया दिए ।

इन्धन ढुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखेर डिपोबाट तेल नउठाएको समाचार सार्वजनिक भएपछि तेल अभाव हुने आशङ्काले एक्कासि लाइन बढेको हो ।

ढुवानीकर्ताले भाडा समायोजनको माग गरेका जनाइएको छ । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले पहिले/पहिले ग्यास अभाव हुने भयो भन्ने हल्लामा एकै जनाले चार/पाँचवटा सिलिन्डर जम्मा गरेजस्तै देखिन लागेको उल्लेख गर्दै चाप बढेकाले शान्ति र सुरक्षालाई ध्यानमा राखेर पम्पहरुमा प्रहरी टोली नै खटाउनु परेको जानकारी दिए । अहिले आवश्यताभन्दा बढी तेल भर्न सर्वसाधारण लाइनमा बसेका छन् ।

कतिपय त ग्यालिनसमेत बोकेर पम्पमा आएका देखिए । दैनिक रुपमा हुने चापभन्दा बढी चाप परेकाले ठूलो लाइन लागेको पम्प सञ्चालकको भनाइ थियो । नेपाल प्रहरीको नक्साल, नेपाली सेनाको भद्रकाली, सशस्त्र प्रहरीको हल्चोकको पम्पलगायत उपत्यकाका सबैजसोमा तेल लिन सर्वसाधारणको ठूलो भिड छ ।

शनिबार बन्द हुने पम्पमा समेत आज लामो लाइन छ । शुक्रबारदेखि नै यो समस्या देखिएको प्रहरीले जनाएको छ । कतिपय पम्पहरुले तेल छैन भनेर ब्यानर नै झुन्ड्याउन थालिसकेका छन् ।

शुक्रबार मात्रै इन्डियन आयल कर्पाेरेशनले पनि इन्धनको मूल्य समायोजनसहितको सूची पठाएको थियो । आयल निगमका अनुसार ग्यास प्रतिसिलिन्डर २७३ ले र मट्टितेल प्रतिलिटर २२ रुपैयाँले बढेको छ भने पेट्रोल प्रतिलिटर १ रुपैयाँ ४८ पैसाले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *