मतपत्र छपाइ शुरू, १ सय ५० नेपाली सेना परिचालन

काठमाडौं। जनक शिक्षा सामग्री संस्थान लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्तै छपाइ शुरू भएको हो ।

केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए। उनले सम्झौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिँदै केन्द्रको क्षमता देखाउन आग्रह गरेका थिए। त्यस क्रममा केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले आयोग र सरकारको निर्देशनअनुसार काम गर्ने बताए ।

दिउँसो करिब २ बजे केन्द्र पुगेको आयोगका पदाधिकारीसहितको टोली करिब आधा घण्टासम्म केन्द्रको छापाखाना, बन्दोबस्तीको अवस्था, कागज, मसी र अन्य कच्चा पदार्थको अवस्थालगायतको बारेमा जानकारी लिएका थिए । केन्द्रले वैशाख २० गतेभित्र करिब २ करोड मतपत्र छपाइ र प्याकिङ गर्ने जनाएको छ ।

मतदान केन्द्रअनुसार फरकफरक प्याकिङ गरी प्लास्टिकको झोलामा राख्ने व्यवस्था गरेको छ । केन्द्रले छपाइ र प्याकिङको जिम्मा लिएको छ । आयोगले केन्द्रबाटै ढुवानी गर्नेछ । आयोगले उपत्यकाबाहेक अन्य जिल्लामा समयमै मतपत्र पुर्याउनेछ । यसअघि नियमित पत्रकार सम्मेलनका क्रममा आयोगले अति दुर्गम क्षेत्रमा हवाईमार्गबाट मतपत्र ढुवानी गर्ने जनाएको थियो ।

करिब २ करोड मतपत्र छाप्न ७ वटा मेसिन प्रयोग गरिएको छ । केन्द्रका १ सय ७५ कर्मचारीले मतपत्र छाप्नेछन् । मतपत्र छाप्न प्रेसमा प्रवेश गर्दा नेपाली सेनाले सम्पूर्ण सुरक्षा जाँच गर्नेछ । मोबाइल बोक्न पाइँदैन । कुनै पनि कागजात लैजान वर्जित गरीएको छ ।

नेपाली सेनाले सुरक्षा जिम्मा लिएपछि प्रेसका कर्मचारीले सेनाकै सुरक्षा निर्देशन मान्नुपर्नेछ । छापाखाना सुरक्षा गर्न १ सय ५० जना नेपाली सेना परिचालित छन् । अति न्यून मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । प्रेसका सबै गतिविधि नेपाली सेनाले निगरानी गर्नेछ । सीसीटीभीको अनुगमन सेनाबाटै हुनेछ । फुटेज राख्ने र अन्य सुरक्षा जाँचसमेत नेपाली सेनाबाटै हुनेछ । उच्च सुरक्षा निकायले केन्द्रको सुरक्षा अवस्थाबारे जानकारी लिइसकेको छ । नेपाल सामचापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *