काठमाडौंमा सवारी दुर्घटनाः ४४ महिनामा ५ सय ६८ को मृत्यु

काठमाडौं । बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान गएको जनाएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा परी काठमाडौंमा मात्रै १ सय ३१ जनाको ज्यान गएको थियो । सो वर्ष काठमाडौंमा ६० जना दुर्घटनामा परी अंगभंग भएको थियो ।

सो आर्थिक वर्षमा ललितपुरमा ५२ जनाको सवारी दुर्घटनामा परेर ज्यान गएको थियो भने ३ जना अंगभंग भएका थिए । यस्तै, भक्तपुर ३७ जनाको मृत्यु हुँदा १० जना अंगभंग भएको रेकर्डले बताउँछ ।

यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा काठमाडौंमा ८१ जनाको मृत्यु तथा ६५ जना अंगभंग भएका थिए । यस्तै, ललितपुरमा २५ जनाको ज्यान जाँदा ४ जना अंगभंग भएका थिए भने भक्तपुरमा सो आर्थिक वर्षमा २७ जनाको मृत्यु हुँदा ३ जना अंगभंग भएको रेकर्ड छ ।

यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा काठमाडौंमा ७६ जनाको मृत्यु तथा ३६ जना अंगभंग, ललितपुरमा २३ जनाको मृत्यु तथा ५ जना अंगभंग तथा भक्तपुरमा २३ जनाको मृत्यु तथा ४ जना अंगभंग भएको रेकर्डले देखाएको हो ।

यसैगरी, चालू आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म काठमाडौंमा ६८ जनाको मृत्यु तथा ३४ जना अंगभंग भएको प्रहरीको रेकर्ड छ । यस्तै, ललितपुरमा ८ जनाको मृत्यु भएको तथा १३ जना अंगभंग भएको र भक्तपुरमा १७ जनाको मृत्यु हुँदा चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ जना अंगभंग भएको प्रहरीको तथ्यांक रहेको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *