देशमाथि अस्तित्वको खतरा आइपरे परमाणुअस्त्र प्रयोग गर्ने रुसी चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोफले मस्कोले परमाणुअस्त्र प्रयोग गर्नसक्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन् । सीएनएन टेलिभिजनलाई दिएको एउटा अन्तरवार्तामा उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे त्यसो हुनसक्ने बताएका हुन् ।

त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको उनले उल्लेख गरेका छन् । युक्रेनमा भइरहेको युद्धलाई प्रवक्ता पेस्कोफले विशेष सैनिक कारबाहीको सङ्ज्ञा दिएका छन् । त्यसको उद्देश्य रुसको छेउछाउबाट रुस विरोधीहरूलाई निमिट्यान्न पार्ने रहेको टिप्पणी समेत उनले गरे ।

पेस्कोफका टिप्पणीलाई अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले खतरनाक भन्दै एक जिम्मेवार परमाणु शक्तिले गर्ने व्यवहार त्यस्तो हुन नहुने बताए । युक्रेनमा आक्रमण सुरु भएको तीन दिनपछि रुसी राष्ट्रपति पुटिनले आफ्ना परमाणु बललाई उच्च सतर्कतामा रहन आदेश दिएका थिए ।

त्यो आदेशको शक्ति राष्ट्रका साथै संयुक्त राष्ट्रसङ्घले समेत चर्को निन्दा गरेको थियो । त्यतिबेला विश्लेषकहरूले पुटिनको आदेशलाई मस्कोले परमाणुअस्त्र प्रयोग गरिहाल्ला भन्दा पनि उनले सम्भवतः अरू देशलाई युक्रेनको मामिलामा संलग्न नहुन चेतावनी दिएको अर्थमा बुझ्नुपर्ने बताएका थिए ।

विज्ञहरूले पुटिनका प्रवक्ताको पछिल्लो भनाइलाई रुसको पारमाणविक नीतिमा आएको परिवर्तनको रूपमा अर्थ्याउन नहुने बताएका छन् । सन् २०१८ को एउटा वृत्तचित्रमा पुटिनले भनेका थिए,‘कसैले रुसलाई नष्ट गर्ने सोचेमा प्रतिकार गर्ने हामीसँग कानुनी अधिकार छ। हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *