काठमाडौं । युवा ब्याट्सम्यान कुशल भुर्तेल र अरिफ शेखले अर्धसतक पुरा गरेपछि नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा जीत हात पारेको छ । मंगलबार दिउँसो भएको खेलमा पीएनजीलाई ७ विकटले पराजित गर्दै नेपालले सिरिजको सुखद अन्त्य गरेको हो ।
जीतको लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा १ सय ७४ रन बनाउँदै लक्ष्य भेट्टायो । नेपाललाई जीत दिलाउन कुशल भुर्तेल र अरिफ शेखले अर्धसतक पुरा गरे । अरिफले १ सय २ बल खेल्दै ४ चौकाको सहयोगमा सर्वाधिक ५९ रन बनाउँदा कुशलले ५० रन जोडे । उनले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै रोहित कुमार पौडेलले ४८ बलमा ५ चौकाको सहयोगमा ४४ रन जोडे ।
पीएनजीको लागि चार्लेस अमिनीले २ र काबुआ मोरेयाले १ विकेट लिए ।
यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । पीएनजीको लागि कप्तान अदाद भालाले सर्वाधिक ४५ रन बनाए । उनले ९६ बलमा ३ चौका प्रहार गरे । यस्तै चद सोपेरले २२, लेगा सिअकाले २०, नोरमान भानुआले १८, काबुआ मोरेयाले १७ र चार्लेस अमिनीले १३ रनको योगदान गरे ।
नेपालको लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिँदा करण केसी, अरिफ शेख, दीपेन्द्र सिह एरी र पवन सराफले १/१ विकेट लिए ।
जीतसँगै नेपाल १२ खेलबाट १२ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ भने पराजित पीएनजी १६ खेलबाट २ अंकको साथ सातौँ स्थानमा छ ।
