USAID

अनुकूलन कार्यक्रमले हराभरा हुँदै काभ्रेका पाखा

नारायण ढुंगाना, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–२ भागवतेमा भूकम्पपछि पानीको मूल सुक्यो । झण्डै २५ धुरीले पानी खाँदै आएको मुहानबाट थोपो आउन छाडेपछि स्थानीयवासी चिन्तित थिए । झण्डै छ वर्षसम्म काकाकूल बनेको उक्त गाउँको पाखापखेरामा वातावरण अनुकूलन कार्यक्रम लागू भएपछि ओसिलो हुन थालेको छ । सुकेका मूलमा पानी देखिन थालेको छ ।

वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड), इसिमोडलगायतका संस्थाका प्रतिनिधिको प्राविधिक सहयोगमा उक्त सुक्खा पाखामा स्थानीयवासी आफैँले पोखरी खन्ने, ड्याम कस्ने, बिरुवा रोप्ने, स्थानीयस्तरमै उत्पादन भएका बाँसलगायत सामग्रीका साथै तारजालीसमेत लगाएर खोल्छा छेक्ने तथा पोखरीमा पानी जमाउने गर्दा जमिनमा पानी सिञ्चित भएर सुक्खायाममा समेत मूल पलाउन थालेको छ ।
कार्यक्रम लिएर सुरुमा प्राविधिक सहयोगका लागि भित्रिएको एउटा संस्थाले मुल पुनः फर्काउने आश्वासन दिँदा गाउँलेले पत्याएनन् । स्थानीयवासी चन्द्रमाया तामाङले यसरी पुरानै अबस्थामा पानीको मुहान फर्किन्छ भन्ने नलागेकाले नपत्याएको बताइन् । “मलाई अब यहाँ पानी झरेको हेर्न पाइन्छ जस्तो लाग्दैनथ्यो, अहिले त्यही सुकेको ठाउँमा तररर पानी चुहिँदा कति खुसीखुसी”, उनले मूलमा फर्किएको पानी देखाउँदै भनिन् । पानी फर्किएपछि अहिले स्थानीयवासीले पातको धारो बनाएर उक्त पानीलाई सानो ट्याङ्कीमा जम्मा गरेका छन् । पाखो क्षेत्रमा रुख बिरुवा हुर्कदै पनि छ । बिरुवा हुर्किसकेपछि यहाँ पानी बढ्ने आशा छ । नपत्याएपछि विश्वास प्राप्त गर्न पुनः मूल फर्किएको क्षेत्रमा गाउँलेलाई घुमाउनु परेको थियो । केहीले तालिम पनि लिए । बल्ल उनीहरुमा विश्वास लाग्यो र कार्यक्रममा दिलोज्यान दिएर लागेका छन् ।

“सुरुमा त गाउँलेले हाम्रो कुरा पत्याएनन्, अनुसन्धान गरेरै देखाइदिन्छौँ भनेर काम थालेको वर्ष नबित्दै अहिले सुक्खा समयमा पनि पानी झर्न थालेको छ, गाउँलेहरु खुसी छन्”, सिप्रेडका एकजना वरिष्ठ प्राविधिक रामदेव शाहले भने । यस्तै अर्काे अभ्यास उक्त नगरपालिकाको कुँइकेलथुम्कामा पनि सफल भएको छ । त्यसपछि गाउँले वन, जैविक विविधता तथा वातावरण संरक्षणमा एकजुट हुन थालेका छन् ।

जलवायु परिवर्तन अनुकूलन कृषि प्रणालीमा समेत उनीहरुको आकर्षण बढ्न थालेको छ । अहिले सुक्खा पखेरालाई हरियाली बनाउने, पानी नै नभएको पाखोबारीमा परेको पानी जम्मा गरेर तरकारी खेती गरी हराभारा बनाएर आम्दानीसमेत लिन थालेको उनले बताए । यहाँ गएको भदौदेखि जलवायु अनुकूलन कृषि समाधान कार्यक्रम (आरएनएस) सञ्चालन गरिएको छ । उक्त कार्यक्रम काभ्रेपलाञ्चोकको नमोबुद्ध, पाँचखाल, धुलिखेल र बनेपा नगरपालिकामा सञ्चालित छ । यस्तै डडेलधुरा, रसुवा, सुर्खेत जिल्लामा पनि उक्त कार्यक्रम चलिरहेको छ । यो कार्यक्रममा काभ्रेको नमोबुद्धमा मात्रै ८०० किसान सहभागी छन् ।

परिवर्तित जलवायुको अवस्थाअनुसार खेती प्रणाली अपनाउनेदेखि वन वातावरण संरक्षणका कार्यक्रम सँगसँगै लगिएको छ । उनका अनुसार कार्यक्रमअन्तर्गत मुख्यतः अर्गानिक कृषि प्रविधिमा काम हुन्छ । जहाँ पानी छैन, त्यहाँ कार्यक्रम लागू छ । किसान प्रशिक्षित भएपछि प्राविधिकको उपस्थिति बिनै पनि आफैँ ज्ञान साटासाट गर्ने भइसकेका छन् । सुक्खा डाँडा हरियाली भएका छन् । बाह्रै महिना तरकारी फल्न थालेको छ । त्यसका लागि आकासबाट परेको र घरमा प्रयोग गर्दा बढी भएको पानी जमाएर राखिन्छ । त्यही पानी आवश्यक पर्दा तरकारीमा सिञ्चित गराएर तरकारी फलाउन थालेका छन् ।

हरेकका घरमै कम्पोष्ट र गड्यौँले मल तयार हुन्छ । रोग किरा नियन्त्रणका लागि वनस्पतिबाट बनाइएको मल तथा गाई भैँसीको मलमूत्रबाट बनाएको जैविक विषादी प्रयोग गर्दै आएको कुँकेलथुम्काका किसान जमुना अधिकारीले बताइन् । किसानलाई कुन बेला के तरकारी लगाउने, कस्तो बेला कुन रोग किरा लाग्छ, त्यसको उपचार के हुनेलगायतका सन्देश सिप्रेडमार्फत मोबाइलमै पठाइने हुँदा किसानलाई थप सजिलो भएको छ ।

यसमा स्थानीय आफ्नै सक्रियता तथा नमोबुद्ध नगरपालिकासँगको समन्वय छ । अन्य कार्यक्रममा आर्थिक सहयोग हुने गरे पनि यसमा भने प्राविधिक सहयोगमा स्थानीय कै अगुवाइमा अनुसन्धानात्मक काम हुन्छ । कार्यक्रमको फाइदा र बेफाइदा के भयो भनेर किसान आफैँले थाहा पाउने हुँदा कार्यक्रम सफल भएको देखिने नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमिल्सिनाले बताए । उनले जलवायु परिवर्तनले विश्वव्यापी असर गरिरहेका बेला त्यसैसँग जोडिएकाले पनि यो कार्यक्रमलाई महत्वका साथ हेरिएको बताए ।

कृषिलाई प्राथमिकता दिएर नगरपालिका अघि बढेको उनको भनाइ छ । विदेशी नगरपालिकासँग सहकार्य गरेरै कृषि प्रविधिको विकास तथा युवा लक्षित कृषि कार्यक्रम नगरमा सञ्चालित छन् । किसान आफैँ सहभागि भएर प्रत्यक्ष हेर्ने मौका पाउँदा पहिले भनेको कुरा नपत्याउने किसान अहिले आफैँ त्यो काममा अग्रसर भएर लागेका पाइन्छ । एकातर्फ यहाँ पानीको मूल व्यवस्थापन गरिएको र रुखबिरुवा लगाएर सुक्खा पाखा–पखेरा रसिलो र हरियो बनाइएको छ भने अर्काेतर्फ सुक्खा पाखामा जलवायु परिवर्तन अनुकूल कार्यक्रममार्फत बाह्रै महिना हरियाली (तरकारी बाली) टुटेको छैन ।

ती गाउँमा यतिबेला कलकलाउँदो काउली, बन्दा, केराउ, लसुन, प्याज, धनियालगायत २२ भन्दा बढी प्रकारका तरकारी लगाइएको छ । ती तरकारी खेती अर्गानिक छन् । आम्दानी पनि राम्रो लिन सफल भएको किसानको अनुभव छ । कुँइकेलथुम्काको नारायणस्थान महिला कृषक समूहकी अध्यक्ष जमुना अधिकारीले पानी नभएको सुक्खा पाखालाई हरियाली बनाउन माटो, बालुवा र सिमेन्ट मिलाएर पोखरी निर्माण गरी परेको पानी र बढी भएको खानेपानी जम्मा गरी सिँचाइ गरिएको बताइन् । उनले भनिन्, “पहिले त्यही पाखामा गहुँ, कोदो, मकै लगाएर न्यून आम्दानी गरिन्थ्यो, अरु बेला सुक्खा हुने पाखा बाह्रै महिना हराभर हुन थालेको छ, बजारको राम्रो व्यवस्थापन हुनसके हाम्रा परिवार विदेशिनु पर्दैन ।”

उनको समूहमा २६ किसान छन् । गाउँमा अन्य कृषक समूह पनि यसैगरी सक्रिय छन् । स्थानीय इन्द्रबहादुर कुँइकेलले आफैँले उत्पादन गरेर आफैँले अर्गानिक तरकारी खाने मात्रै होइन, अरुलाई पनि स्वास्थ्यकर तरकारी दिन थालेको बताए ।

उनले तीन रोपनीमा २२ थरिका तरकारी लगाएका छन् । झोलमल आफैँ उत्पादन गर्छन् । आकासे पानी सङ्कलन गरेरै पानी प्रयोग हुन्छ । किसान सावित्री कुँइकेल सामान्य लगानी गरेरै वार्षिक कम्तीमा तीन लाख कमाइ भएको बताउँछन् । “पानी छैन, पानी छैन मात्रै भन्छौँ तर विगतमा व्यवस्थापन गर्न सकिएन छ, आकासे पानी जम्मा गरे त हुनेरहेछ नि”, बारीमा उत्पादित तरकारी देखाउँदै कुँइकेलले भने, “त्यही आकासे पानीले सुक्खा याममा पनि यसरी लहलह तरकारी फल्यो ।”

सबै किसानले विषादी हाल्दैनन् । अर्गानिक तरकारी खेती भएकाले बारीमै मौरीको गोलो आएर बसेको छ । गाउँभरि नै मौरी भुनभुनाउँछ । मौरी आउनु भनेको त्यहाँका वातावरण स्वास्थ्यकर भएको सूचक हो, वरिष्ठ कृषि प्राविधिक रामदेव शाहको भनाइ छ । उनका अनुसार यहाँ सञ्चालित दुवै कार्यक्रम जलवायु परिवर्तन अनुकूलनका र वातावरण संरक्षणका लागि हो ।

हालैमात्र उक्त कार्यक्रमको प्रभावकारिताका बारेमा नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्ज नेतृत्वको टोलीले हालै स्थलगत भ्रमणसमेत गरेको थियो । टोलीमा फिनल्याण्ड राजदूतावासका कन्सुलर, युरोपियन युनियन तथा इसिमोडका अधिकारीहरुको सहभागिता थियो । भ्रमणका क्रममा राजदूत डा प्रिन्जले किसानको लगावको प्रशंसा गर्दै उनीहरुको सीप नेपालको हरेक क्षेत्रमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

 

CivActsAd

Leave a Reply

Your email address will not be published.