सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकाको लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन् । चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन् ।
वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । उनी नेपाली कांग्रेसका हुन् । त्यस्तै सदस्यमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएको स्थानीयवासी कुन्जोक तामाङले जानकारी दिए । उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरुको मात्रै मनोनयन दर्ता हुनेछ र उहाँहरुलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।
“गाउँलेहरुको भेलाले वडाध्यक्ष र सदस्य चुने र अब त्यसलाई प्रक्रिया पु¥याएर औपचारिकता दिन बाँकी छ”, तामाङले भने, “अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो ।”
नाम्खा गाउँपालिका–६ का तीन गाउँमा तीनवटा मतदान केन्द्र रहेका छन् । तीमध्ये सुनखानी आधारभूत विद्यालय हल्जीमा २२६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा २०५ र हिमशिखर प्राथमिक विद्यालय तिलमा ११० गरेर कूल ५४१ म्तदाता सङ्ख्या छ ।