युएईसँग नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत भएको दोस्रो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार दिउँसो भएको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको हो ।

जीतको लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय २० रनमै समेटियो । खेलमा नेपालले राम्रो शुरुवात गर्न सकेन । नेपालले २७ रन जोड्दा ३ विकेट गुमाएपछि टोली दबाबमा परेको थियो । नेपालको लागि रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे । उनले ६० बलमा ४ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्लले ६२ खेल्दै १ चौकाको मद्दतमा २८ रन जोड्दा कुशल भुर्तेलले ११ रन जोडे । अन्य ८ ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

नेपाललाई कम स्कोरमा रोक्न बासिल हमेदले ५ ओभरमा १५ रन दिएर ४ विकेट लिए । जुनाइद सिड्दिकीले ७.१ ओभरमा १८ रन दिएर ३ विकेट लिँदा जाहोर खान र रोहन मुस्तफाले एक/एक विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको युएई ४६.३ ओभरमा अलआउट हुँदै १ सय ६८ रनमा समेटिएको थियो । युएईको लागि चुन्दाङापोयल रिज्वान र रोहन मुस्तफाले समान ४०/४० रन जोडे । मुस्तफाले ८१ बलमा २ चौका र १ छक्का हिर्काउदा रिज्वानले ८५ बलमा बाउन्ड्री प्रहार गर्न सकेनन् । यस्तै मुहमद वासिमले २१, कशिफ डाउदले १८, बासिल हमेदले १४ र अहमेद राजाले १३ रनको योगदान गरे ।

नेपालको लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चिदै ४ विकेट लिए । करण केसीले ७.३ ओभरमा १ मेडन राख्दै १६ दिएर ३ विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्र सिंह एरि र सागर ढकालले १/१ विकेट लिए ।

जीतसँगै युएई १६ खेलबाट २० अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ भने पराजित नेपाल १० खेलबाट १० अङ्क जोड्दै छैटौं स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *