धौलिगाड खानेपानी आयोजनाबाट ४४ हजारभन्दा बढी घरधुरी लाभान्वित हुने

खलङ्गा । कर्णाली प्रदेशको सबैभन्दा ठूलो जुम्लास्थित बृहत् धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेका उक्त आयोजनाको निर्माण प्रक्रिया अहिले सुरु भएको हो । केही महिना अघि आयोजना निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता भएपनि कहिलेबाट निर्माण हुने ढुङ्गो लाग्न सकेको थिएन ।

एक अर्ब २६ करोडको लागतमा निर्माण हुने उक्त आयोजनाको भोलि अर्थात् यही चैत ५ गते सङ्घीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गर्ने कार्यक्रम तय भएको धौलिगाड खानेपानी आयोजनका प्रमुख महेश न्यौपानेले जानकारी दिए । उनले भने, ‘कर्णाली प्रदेशकै ठूलो र नेपालको हिमाली भेगमा रहेको सबैभन्दा लामो प्रसारण तथा वितरण क्षेत्र रहेको उक्त खानेपानी आयोजनाबाट चन्दननाथ नगरपालिकासहित गुठिचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी लाभान्वित हुनेछन् ।’

आयोजना सञ्चालनसँगै त्यस क्षेत्रका नागरिकले भोगिरहेका खानेपानी समस्या पनि हट्ने अपेक्षा गरिएको छ । लामो सङ्घर्ष र प्रयासपछि आयोजना निर्माण हुने प्रक्रिया गएकोमा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले खुसी व्यक्त गरे । आयोजनाअन्तर्गत तीन हजार ३०० भन्दा बढी धारा निर्माण गरिने छन् ।

खानेपानीको अभाव झेलिरहेका जुम्लाका दुर्गम गाउँबस्तीले आयोजनाबाट राहत पाउने विश्वास लिइएको छ । “करिब १२ वर्षपछि धौलिगाड खानेपानी आयोजना निर्माणका लागि टेण्डर प्रक्रियामा गएपछि जुम्ली नागरिक खुसी भएका छन् । उनले भने, “जुम्ली जनताको ठूलो सपना धौलीगाड खानेपानी आयोजना टेण्डरमा गएको छ । तीन वटै स्थानीय तहले लगानी गरेपछि आयोजनाले मूर्त रूप लिएको छ । अब आयोजनाले गति लिने छन् ।”

स्थानीय तहको साढे एक करोड लगानी

आयोजना निर्माणका लागि कूल लागतको एक प्रतिशत रकम स्थानीय तहले व्यवस्थापन गर्नु पर्नेछ । एक प्रतिशत श्रमदानका लागि लाभान्वित तीन वटा स्थानीय तहले एक करोड ४६ लाख लगानी गरेको जिसस उपप्रमुख बुढाले बताए ।

स्थानीय तहले आयोजनाको खातामा अग्रिम नगद जम्मा गरेपछि आयोजना अघि बढेको हो । यसका लागि चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठिचौर गाउँपालिकाले ४६ लाख बजेट पहिले नै बैंक धरौटी राखिसकेका छन् । सो खानेपानी आयोजनाको शुरुवात २०६४ साल देखिनै भएको थियो । २०६६ सालमा स्थानीयवासी राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समितिले आयोजनाको केही काम शुरु गरे पनि पूर्णता हुन सकेन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *