डेल्टाक्रोन कति घातक ?

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मार्च ९ मा वैज्ञानिकहरूले नयाँ कोभिड–१९ भेरियन्ट पत्ता लगाएको घोषणा गर्यो । डेल्टा र ओमिक्रोन भेरियन्टको संयुक्त रूप भएकाले यो नयाँ भेरियन्टलाई ’डेल्टाक्रोन’ नाम दिइएको छ । डब्ल्यूएचओले यो भेरियन्टलाई एवाई.४/बीए.१ पनि भन्छ र यसलाई अहिलेसम्म ‘चिन्ताको भेरियन्ट’का रूपमा वर्गीकरण गरिएको छैन। जसको अर्थ यो भेरियन्ट अहिलेसम्म जनस्वास्थ्यका ठूलो प्रभाव पार्ने खालको देखिएको छैन । डेल्टाक्रोनको सङ्क्रमण युरोप, अमेरिका र दक्षिण अमेरिकामा भेटिएको छ । तर वैज्ञानिकहरू यो भेरियन्ट कत्तिको सङ्क्रामक छ वा यसमाथि खोपले कति काम गर्छ वा यसले गम्भीर खालका लक्षण ल्याउँछ कि ल्याउँदैन भन्ने कुरामा स्पष्ट भइसकेका छैनन् । त्यसो भए अहिलेसम्म डेल्टाक्रोन भेरियन्टका बारेमा थाहा भएका कुराहरू के–के हुन् त ?
उत्पत्ति र विस्तार
डेल्टाक्रोनको पहिलो सङ्क्रमण सन् २०२२ को जनवरीमा फ्रान्समा भेटिएको थियो । त्यसयता यो बेल्जियम, जर्मनी, डेन्मार्क र नेदरल्यान्डमा फेला परिसकेको वैज्ञानिकहरूले कोरोनाभाइरसबारे जानकारी आदानप्रदान गर्ने अनलाइन प्ल्याटफर्म जीसेडमा उल्लेख गरिएको छ । हालैका दिनमा डेल्टाक्रोन बेलायत, अमेरिका र ब्रजिलमा पनि भेटिएको छ । यसको सङ्क्रमण अहिलेसम्म निकै कम छः मार्च १५ सम्म जम्मा ४७ नमुनाका बारेमा जीसेडमा जानकारी छ जसमध्ये ३६ वटा फ्रान्सको नमुना हुन् ।

पुष्टि भएको जानकारी नभए पनि जनवरीदेखि मार्चसम्म डेल्टाक्रोनको सङ्क्रमण जति फैलिएको देखिएको छ त्यसलाई हेर्दा यो डेल्टा वा ओमिक्रोनभन्दा धेरै सङ्क्रामक नदेखिएको प्रारम्भिक सङ्केत छ । यो सङ्केतसँग मिल्दोजुल्दो तथ्याङ्क अमेरिकामा जीन सीक्वन्सिङ गर्ने निजी कम्पनी हेलिक्सको अप्रकाशित अध्ययनमा छ ।

हेलिक्सका वैज्ञानिकहरूले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को फेब्रुअरीसम्म सङ्कलन गरेका कोभिडका २९ हजार नमुनामध्ये दुई नमुनामा मात्रै डेल्टाक्रोन सङ्क्रमण देखिएको छ। त्यो समयावधि भनेको अमेरिकामा डेल्टा र ओमिक्रोन ज्यादै फैलिएको समय थियो । अध्ययनकर्ताहरूले अहिलेका लागि यो नयाँ भेरियन्ट “विरल“ भएको र “यो डेल्टा–ओमिक्रोन संयुक्त भाइरस ओमिक्रोनभन्दा बढी सङ्क्रामक भएको कुनै प्रमाण नभेटिएको“ बताएका छन्।

भेरियन्ट कसरी मिसियो ?
ब्रजिलका भाइरसविज्ञ फिलिप नाभेकाका अनुसार भाइरसका भेरियन्ट मिसिनु कुनै नयाँ वा अनपेक्षित कुरा होइन । ‘अन्य भेरियन्टहरू पनि केही पटक मिसिइसकेको हुनुपर्छ। तर कोरोनाभाइरसका भेरिअन्टहरू एकआपसमा ज्यादै फरक नभएको हुँदा यी मिसिएको कुरा पत्ता लगाउन गाह्रो हुन्छ।’ ‘भाइरसहरू निरन्तर परिवर्तित भइरहन्छन् र नयाँ भेरिअन्ट देखिनु भनेको नराम्रै हुन्छ भन्ने होइन। हामीले अब यो नयाँ भेरियन्टले महामारीमा पार्ने असरका बारेमा अध्ययन गर्नुपर्छ।’

तर कसरी मिसियो त भाइरसका भेरियन्ट ?
पहिलो कुरो त गत केही महिनामा डेल्टा र ओमिक्रोन भेरियन्टको सङ्क्रमण एकदमै धेरै थियो। यो अवस्थामा कुनै व्यक्तिलाई दुवै भेरियन्टबाट सङ्क्रमण हुनु नौलो होइन । त्यस्तो अवस्थामा दुवै भेरियन्टले एकै पटक मानवकोषमा सङ्क्रमण गर्छन् र परिणामस्वरूप त्यहाँ विकसित भएका भाइरसले दुवै भेरियन्टको गुण लिएका हुन सक्छन् ।

वैज्ञानिकहरूले डेल्टाक्रोनमा ओमिक्रोनको ‘स्पाईक’ र डेल्टाको ‘कलेवर’ भएको बताएका छन् । तर वैज्ञानिकहरू दुई महत्वपूर्ण भेरियन्ट मिसिँदा बनेको भेरियन्टले अझ गम्भीर लक्षण देखाउने वा नदेखाउने एवम् अस्पताल भर्ना हुनुपर्ने अवस्था वा मृत्युको जोखिम बढाउने वा नबढाउने विषयमा स्पष्ट भइसकेका छैनन् । त्यस्तै खोपले वा पहिला सङ्क्रमण हुँदा विकसित प्रतिरोधी क्षमताले यसलाई रोक्छ या रोक्दैन भन्ने कुरामा पनि वैज्ञानिकहरू स्पष्ट हुन सकेका छैनन् ।

चिन्ता गर्नुपर्ने कारण छन् ?
अन्तर्राष्ट्रिय जनस्वास्थ्य निकायहरूले नयाँ भेरियन्टका विषयमा चिन्ता नलिन भनेका छन्। डब्ल्यूएचओ र अमेरिकाको सीडीसीले डेल्टाक्रोनलाई अहिलेसम्म “चिन्ताको भेरियन्ट“ भनी वर्गीकरण गरेका छैनन् । डब्ल्यूएचओले यसलाई हाल ‘निगरानीमा रहेको भेरियन्ट’मा राखेको छ । मार्च ९ को पत्रकार सम्मेलनमा डब्ल्यूएचओमा कोभिड–१९ का प्राविधिक प्रमुख मारिया भान केर्खोभले यो भेरियन्टका कारण रोगको गम्भीरता या सङ्क्रमणका विषयमा कुनै परिवर्तन नदेखिएको बताएकी थिइन् । ‘दुर्भाग्यवश हामी अरू यस्ता मिश्रित भाइरसहरू देख्नेछौँ किनभने समयसँगै परिवर्तन हुनु भाइरसको गुण नै हो।’ नाभेका यसले वैज्ञानिकहरूले निगरानी गरिरहनुपर्ने आवश्यकतालाई जोड दिएको मान्छन् । ‘नयाँ भेरियन्टले कुनै प्रभाव पार्छ कि भनेर हेर्न हामीले धेरैभन्दा धेरै जीन सीक्वन्सिङ गर्नुपर्छ,’ उनले भने । नाभेकाले मानिसहरू पनि सतर्क हुनुपर्ने बताए । ‘व्यक्तिगत रूपमा कोरोनाभाइरसको कुनै पनि भेरिअन्टको सङ्क्रमणको जोखिम कम गर्न खोपको पूर्ण मात्रा लिनु र अन्य स्वास्थ्य सावधानीका उपायहरू अपनाउनु अत्यावश्यक छ।’

एन्ड्रे बेर्नथ
बीबीसी न्यूज ब्रजिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *