कुमौनी होलीमा मस्त छन् सुदूरका बस्ती

काठमाडौं ।

आयो सहरमे व्यौपारी,

जोगी आयो सहरमे व्यौपारी।

इस व्यौपारीको भुक लगिहे,

खाना खिलादे मतवाली।

आयो सहरमे व्यौपारी,

जोगी आयो सहरमे व्यौपारी…।’

यही कुमौनी गीतमा अहिले सुदूर पश्चिमका गाउँबस्ती झुमिरहेका छन्। अहिले टाउकोमा पगरी बाँधेर सेतो कुर्ता र जामामा सजिएका वृद्धरयुवा गाउँगाउँमा गडवाली, काली कुमौनी ‘होरी’ (होली) गीत गाउँदै रमाइरहेका छन्।

ड्यौडिया भाकामा श्रीकृष्ण, राम भगवान्का चरित्रका गाथा गाउँदै एक आपसमा होलीको रङले रंग्याउँदै सुदूरबस्ती गुञ्जायमान बनेको छ। घरघर गएर होली गीत गाइन्छ। दुई वर्ष कोरोनाका कारण शिथिल बनेको होली अहिले भने रंगिन बनेको छ। ‘दुई वर्ष कोरोनाका कारण होलीको खासै रौनक भएन,’ विवेक नागरीले भने, ‘यसपटक भने गाउँगाउँमा होलीको रौनक छ।’

घरघरमा गई कुमौनी होली खेल्दा घरधनीले पैसा तथा अन्य सामग्री दिन्छन्। होलीबाट संकलित रकम स्थानीय सामाजिक कार्यमा खर्चिन्छ। धनगढीको जाखोर ताल, शिवनगर, बोराडाँडी, उत्तरबेहडी, तारानगर लगायतका क्षेत्र होलीमय बनेको छ। यहाँ कुमौनी होली खेलिन्छ। पश्चिम नेपालमा ड्यौडिया होरी कहिले भित्रिएको हो भन्ने यकिन नभए पनि परापूर्व कालदेखि चलिआएको मान्न सकिने डोटेली संस्कृतिका जानकार डा टिएन जोशी बताउँछन्।

यहाँ भारतको मथुराको होली प्रभाव परेको उनी बताउँछन्। ‘यहाँ खेलिने होलीमा हिन्दी लवज आउनुका साथै गीत पनि मथुरा, काली कुमाउनी, गडवाली, भाषाको हुन्छ,’ उनले भने, ‘त्यही भएर उतै (कुमाउ, गडवाल र मथुरा) बाटै भित्रिएको आकलन गर्न सकिन्छ।’

पूर्वी नेपालमा एक आपसमा रङ दलेर होली मनाउने गरिए पनि सुदूरपश्चिममा पहाडी समुदायले डेउडाको लयमा श्रीकृष्ण, रामका बहादुरी गाथा गाएर रङको पर्वा होली खेल्छन्। त्यस्तै सुदूरपश्चिमको तराईमा बसोबास गर्दै आएका आदिवासी रानाथारू पनि पहाडी होली जस्तै गोलबद्ध भएर भगवान्का गाथा गाउँदै होली खेल्ने उनी बताउँछन्।

द्वापर युगमा होलीको प्रारम्भ नै श्रीकृष्ण भगवान्ले मथुराबाट सुरुवात गराएका हुन्। असत्यमाथि सत्यको विजयका रूपमा लिइएको होली हीरण्यकस्यपकी बहिनी होलिकालाई दहन गरेको खुसीयालीमा मनाइन्छ। मानिस र भगवान् कसैले पनि आफूलाई मार्न नसक्ने बरदान ब्रम्हाबाट पाएका हिरण्यकस्यपले आफ्ना छोरा प्रह्लादलाई मार्न बहिनी होलिकालाई आगोमा हाम फाल्न लगाएका थिए।

अग्निमा हाम फालेकी होलिकाको अग्नि कवच हावाले उडाउँदा उनी भष्म भएकी थिइन्, तर विष्णुभक्त प्रह्लाद भने सकुशल रहे। यसरी असत्यमाथि सत्यको विजयका रूपमा भगवान् श्रीकृष्णले होली पर्व मनाएको बुढापाका बताउँछन्। भगवान् श्रीकृष्णले चलाएको होली भएकाले ब्रजभाषा शैलीमा पुरुषार्थ, कृष्णका लिला, रामका चरित्र गाथा गाउँदै होली खेलिन्छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *