अठार महिने शिशुमाथि हुने बलात्कार अति नै हो, नयाँ ‘स्टेप’ लिने कि ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामैत्री कानूनी व्यवस्थाबाट महिलाको आर्थिक र सामाजिक अवस्थामा सुधार आएपनि महिला र बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रण गर्न सबै पक्षको पहल आवश्यक रहेको बताएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित बढ्दो बलात्कारका घटनाका विषयमा सरोकारवाला निकाय पदाधिकारी तथा विशेषज्ञबीचको छलफलमा राष्ट्रपतिले पछिल्लो पटक महिला हिंसा, बालबालिकामाथि हुने गरेका अपराधमाथि भइरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ताको कानूनी व्यवस्था र उपचारात्मक पक्षबाट सम्बोधन गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले महिला हिंसा र बालबालिकामाथि हुने जघन्य अपराधको नियन्त्रणका लागि महिला र बालबालिकासम्बन्धी विद्यमान कानूनलाई सामूहिक सुधार गर्न आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले महिला र बालबालिकामा हुने अपराधको वास्तविक समस्याको गहिराइमा पुगेर अनुसन्धान, अभियोजन र कारवाही प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताइन् ।

उनले बालबालिकामाथि भइरहेका बलात्कार र अन्य घटनाको न्यूनीकरणका लागि विद्यालय तहदेखि नै पाठ्यक्रम र चेतनामूलक कार्यक्रमद्वारा प्रयास गर्नुपर्नेमा जोड दिइन् । अपराध प्रकृतिका सम्बन्धमा विद्यालय, विश्वविद्यालय, आमाबीच छलफल गरेर निस्कने निष्कर्षलाई ग्रहण गरेर कानून निर्माण गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

उनले महिला र बालबालिकामाथि हुने हिंसाका सम्बन्धमा राज्यको एजेण्डा नै बन्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले १८ महिने शिशुमाथि हुने बलात्कारका घटनामा संलग्नलाई नयाँ कदम चालेर कारवाही गर्ने कि भन्नेमा छलफल चलाउनुपर्ने बताइन् ।

“अठार महिने शिशुमाथि हुने बलात्कार अति नै हो”, उनले भनिन्, “यस्तो प्रकृतिको घटनामा यकीन तथ्यसहित प्रमाण प्राप्त हुन्छ भने नयाँ ‘स्टेप’ लिने कि नलिनेमा छलफल गर्नुपर्दछ । समाजको मनोवैज्ञानिक अध्ययन गरेर के गर्न राम्रो हुन्छ त्यही गर्नुपर्दछ ।”

उनले मुलुकमा शिक्षित समाज भए पनि शिशुु र बालबालिकाका समस्याको बयान गरेर साध्य नै नरहेको स्पष्ट पारिन् । पहिले बालबालिकामाथि आएका समस्या समाधान गर्न कानून बनेर समाधान भए पनि अहिले फेरि पनि समस्या आएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

उनले संयुक्त राष्ट्रसङ्घमा उल्लेख भएअनुसार बालबालिका योग्य हुन्छन् भनेर १६ वर्ष उमेरमा नागरिकता, १८ वर्ष उमेरमा मतदान र २० वर्षमा विवाह गर्ने उमेर कानूनमा राखे पनि समस्या देखिएको बताइन् ।

“सोह्र वर्ष उमेरमा नागरिकता, १८ वर्ष उमेरमा मतदान र २० वर्षमा विवाह गर्ने कानूनमा तोकिएका यी उमेरको तालमेल मिलेन भन्ने मेरो मनमा रहेको छ”, उनले भनिन्, “यी उमेरबारे सोच्नुपर्दछ कि भन्ने मलाई लागेको छ । हाम्रो समाजअनुसार नागरिकता, मतदान र विवाह गर्ने उमेर कति राख्दा व्यावहारिक हुन्छ भनेर सोच्नुपर्दछ ।” विद्यालय तहको शिक्षालाई बलियो बनाउनसके बलात्कारका घटनामा कम गर्न सकिने उनको धारणा थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *