राप्रपाद्वारा उम्मेदवार छनोटको मापदण्ड तय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले मापदण्ड तय गरेको हो ।

बैठकमा महामन्त्री एवम् निर्वाचन परिचालन समिति संयोजक भुवन पाठकले प्रस्तुत गरेको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ पारित भएको छ । उक्त निर्देशिका पारित भएसँगै आगामी निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड पनि तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

स्थानीय निर्वाचनका लागि केन्द्रीय तहमा र प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरिनेसबै तहमा गठन हुने निर्वाचन परिचालन समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरिएको उनले बताए ।

उनका अनुसार उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

त्यसैगरी, विगतका निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारका पक्षमा सक्रियतापूर्वक काम गरेको, पार्टीद्वारा सञ्चालित विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिवद्धता हुनुपर्ने पनि मापदण्ड छ ।

राप्रपाले उम्मेदवार हुन पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरि निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने व्यवस्था गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *