काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले जीत निकालेको छ । बुधबार बेलुकी सम्पन्न खेलमा पीएनजीलाई २ विकेटले पराजित गर्दै नेपालले सिरिजमा विजयी शुरुवात गरेको हो ।
जीतको लागि २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा २ सय १० रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपाललाई जीत दिलाउन अरिफ शेख र रोहित कुमार पौडलले अर्धसतक पूरा गर्दा करण केसी महत्त्वपूर्ण इनिङ्स खेले । एक समय ४२-४ को स्थितिमा रहेको नेपाललाई अरिफ शेख र रोहित कुमार पौडेलले सतकिय साझेदारी गर्दै नेपाललाई जीततर्फ लम्काएका हुन् ।
रोहित र अरिफले पाँचौ विकेटको लागि १ सय २ रनको साझेदारी गरेका हुन् । नेपाली ब्याट्सम्यानले कुनैपनि विकेटको लागि एकदिवसीयमा गरेको यो सबैभन्दा ठुलो साझेदारी हो । रोहितले ८५ बलमा ४ चौकासहित सर्वाधिक ५८ रन बनाउँदा अरिफले ५३ रन बनाए । उनले ८१ बलमा २ चौका हिर्काए । करण केसीले २५ बलमा २ छक्का र १ चौका प्रहार गरे । अन्तिम ओभरमा नेपाललाई जीतको लागि ५ रन चाहिएको अवस्थामा करणले १ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई सिरिजमा पहिलो जीत दिलाएका हुन् । यस्तै असिफ शेखले १६, विनोद भण्डारीले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।
पीएनजीको लागि नोर्मान भानुआ, अलेइ नाओ र रिले हेकुरेले २/२ विकेट लिँदा चद सोपेर र असाद भालाले समान १/१ विकेट लिए ।
यसअघि शरजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पीएनजीले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । पीएनजीको लागि चार्लेस अमिनीले सर्वाधिक ५९ रन जोडे । उनले ८२ बलमा ७ चौका प्रहार गरे । यस्तै चद सोपेरले ७२ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाउँदा टोनी उराले २७, लेगा सिअकाले २५, नोर्मान भानुआले २३ र असाद भालाले १९ रनको योगदान गरे ।
नेपालको लागि सोमपाल कामीले १० ओभर बलिङ गर्दै ४८ रन खर्चिएर ३ विकेट लिए । यस्तै अरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक/एक विकेट लिए ।
जीतसँगै नेपाल ९ खेलबाट १० अङ्क जोड्दै लिगको छैटौं स्थानमा यथावत रहेको छ । यता १४ खेलसम्म अङ्कविहिन रहेको पीएनजी लिगको पुछारमा छ ।
