जर्मनीले तत्काल रूसी तेल आयात नरोक्ने

जर्मनीले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयातबाट झण्डै मुक्त हुने लक्ष्य लिएको जनाएको छ । युक्रेनमाथिको आक्रमणपछि संयुक्त राज्य अमेरिकालगायत यूरोपेली मुलुकहरूले मस्कोलाई प्रतिबन्ध लगाउने र आर्थिक दबाव सिर्जना गर्ने योजना अघि सारेपनि जर्मनीले तत्काल रूसी तेलमाथिको निर्भरतालाई सम्बोधन गर्न सम्भव नभएको जनाएको हो ।

फ्याङफर्टर आल्जेमाइन जाइटुङले रोबर्ट हाबेकलाई उदृत गरी उल्लेख गरेको छ, “हरेक दिन, साँच्चै भन्ने हो भने, हामी हरेक घण्टा रूसी आयातलाई बिदाइ गर्दैछौं । हामी शरद ऋतुसम्ममा रूसी कोइलाबाट स्वतन्त्र हुनेछौं र वर्षको अन्तसम्ममा रूसी तेलमाथिको निर्भरताबाट स्वतन्त्र हुनेछौं ।” जर्मनीले हाल आफ्नो तेलको एक तिहाइ र रूसबाट ४५ प्रतिशत कोइला आयात गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

जर्मनीको लागि रूसी ग्याँस काट्नु एउटा कठिन परिस्थिति हो, जसले रूसबाट आधाभन्दा बढी ग्यास आयात गर्छ । हाबेकले रूसी ऊर्जा आयातमा रोक लगाउन प्रतिरोध गर्दै उहाँले रूसी इन्धन बहिस्कारले हिउँदमा इन्धन अभाव हुने र मुद्रास्फीति बढ्ने चेतावनी दिएका छन् ।

फेब्रुअरी २४ मा सुरु भएको युक्रेनमाथिको घातक आक्रमणका लागि खासगरी अमेरिकालगायतका यूरोपेली मुलुकले रूसविरुद्ध व्यापक प्रतिबन्ध लगाएका छन् । प्रतिबन्धलाई थप कडा पार्दै अमेरिका र बेलायतले मार्च ८ देखि रूसी तेल आयातलाई बन्द गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *