शरणार्थी बने २५ लाख युक्रेनी

काठमाडौं । रुसी आक्रमणका कारण युक्रेनमा शरणार्थी संकट दिनप्रतिदिन बढ्दो क्रममा छ। रुसी हमलाको पछिल्लो दुई सातामा २५ लाख युक्रेनी नागरिक शरणार्थी बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो गान्डीले रुसी आक्रमणबाट शरणार्थी बन्ने युक्रेनीको संख्या बढिरहेको बताएका छन्। उनले शरणार्थी बन्न बाध्य २५ लाखमध्ये एक लाख १६ हजार तेस्रो मुलुकका नागरिक रहेको जानकारी दिएका छन्। उनका अनुसार थप २० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भएका छन्।

युक्रेनी रक्षामन्त्री ओलेस्की रज्निकोभले रुसी हमलामा सैनिकभन्दा बढी गैरसैनिक मारिएको बताएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किीले युक्रेनले रासायनिक हतियार बनाइरहेको भन्ने रुसी आरोपको खण्डन गरेका छन्। उनले बिहीबार राति सम्बोधन गर्दै रुसी दाबीमा कुनै सत्यता नभएको बताएका हुन्। अमेरिकाले रुसको उक्त आरोपलाई हास्यास्पद भनेको छ।

साथै रुसले युक्रेनमाथि सोही किसिमका हतियार प्रयोग गर्न सक्ने सम्भावनलाई यसले पुष्टि गरेको आरोप अमेरिकाको छ। रुस र युक्रेनका विदेशमन्त्रीबीच बिहीबार टर्कीमा भएको भेटवार्तामा कुनै प्रगति भएको छैन।

दुई समकक्षीबीच भएको कुराकानीमा युद्धविरामको पक्षमा कुनै प्रगति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनको राजधानी किएभतर्फ अघि बढिरहेका रुसी सैनिक पछिल्लो २४ घण्टामा राजधानीबाट पाँच किलोमिटरको दूरीमा पुगेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *