एजेन्सी । इटालियन क्लब एटलान्टाले युईएफए युरोपा लिगमा महत्त्वपूर्ण जीत निकालेको छ । गएराति भएको अन्तिम १६ को पहिलो लेगमा एटलान्टाले जर्मन क्लब बायर्न लेभरकुसेनलाई ३-२ गोलले पराजित गरेको हो ।
घरेलु मैदान गेविस रंगशालामा भएको खेलमा एटलान्टालाई जीत दिलाउन लुइस मुरिएलले दुई गोल गर्दा रुस्लान मालिनोभ्स्कीले एक गोल गरे । लेभरकुसनको लागि चार्लेस अराङुइज र मोउसा डिअबीले एक/एक गोल गरे । पहिलो हाफको ११ औं मिनेटमा विर्ट्जको पासमा अराङुइजले गोल गर्दै लेभरकुसेजलाई शुरुवाती अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा मुरिएलको पासमा मालिनोभ्स्कीले गोल गर्दै एटलान्टालाई १-१ गोलको बराबरीमा ल्याए । दुई मिनेटपछि मालिनोभ्स्कीको पासमा मुरिएलले गोल गर्दै एटलान्टालाई २-१ गोलको अग्रता दिलाए । ४९ औं मिनेटमा मालिनोभ्स्कीको पासमा मुरिएलले व्यक्तिगत दोस्रो गोल गर्दा एटलान्टाले खेलमा अग्रता दोब्बर बनाएको थियो ।
६३ औं मिनेटमा डिअबीले गोल गर्दै लेभरकुसेनलाई ३-२ गोलको स्थितिमा ल्याएका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल नसक्दा एटलान्टा ३-२ गोलले विजयी भयो । अब दुई टोलीबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।
यस्तै गएरातिनै भएको अर्को खेलमा एफके सिर्भेना ज्भेज्डालाई ३-० गोलले हराउँदै रेन्जर्सले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । इब्रोक्स रंगशालामा भएको खेलमा रेन्जर्सलाई जीत दिलाउन जेम्स टाभेर्निएर, अल्फ्रेडो मोरेलोस र लिओन बालोगुनले एक/एक गोल गरे ।