एमसीसी अनुमोदन भएसंगै ३१५ किमि प्रसारण लाइन सुनिश्चित

काठमाडौं । प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको अनुदान सहायता सम्झौता अनुमोदन भएसँगै ३१५ किमि लामो विद्युत् प्रसारण लाइन परियोजना निर्माण पनि सुनिश्चित भएको छ । यो सुनिश्चिताले विद्युत् विकास र त्यसको खपत व्यवस्थापनमा उल्लेख्य सुविधा प्राप्त हुने सरोकारवालाले बताएका छन् ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए)नेपालले कार्यान्वयन गर्ने दुई परियोजनामध्ये चार सय केभी क्षमताको लप्सीफेदी–रातामाटे–हेटौँडा–दमौली–बुटवल प्रसारण लाइन मुख्य हो । यो प्रसारण लाइन र अन्तर्गतका सबस्टेसन निर्माण गर्दा विद्युत्को आन्तरिक खपत विस्तार र बढी भएको बिजुली भारत निर्यात गर्नका लागि पनि यो परियोजना आवश्यक मानिएको हो । पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजनाका लागि कुल ३९ करोड ८२ लाख अमेरिकी डलर लगानी हुँदै छ ।

काठमाडौंको लप्सीफेदी सबस्टेसनबाट सुरु हुने यो प्रसारण लाइन पाँच खण्डमा बनाउने योजना एमसीए नेपालको छ । काठमाडौँको उत्तरपूर्वमा पर्ने लप्सीफेदीदेखि नुवाकोटको रातामाटेसम्म, रातामाटेदेखि पर्ने हेटौँडासम्म, रातामाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतीय सीमासम्म गरी पाँचवटा खण्डमा संरचना बन्नेछन् ।

कुल ३१५ किलोमिटर लामो डबल सर्किट यो प्रसारण लाइनमा आठ सय पचास टावर निर्माण हुनेछन् । एमसीसीकै वित्तीय व्यवस्थाअन्तर्गत तीनवटा सबस्टेसन निर्माण हुनेछन् भने यसबाहेक नेपाल सरकारले थप दुईवटा सबस्टेसन बनाउनेछ ।ग्यास इन्सुलेटेड सबस्टेसन रातामाटे, दमौली र बुटवलमा निर्माण हुनेछन् । लप्सीफेदी र हेटौँडाका सबस्टेसन भने यो परियोजना बाहिर नेपाल सरकारले बनाउनेछ । सबस्टेसनमा एक हजार एमभिएका ट्रन्सफर्मर रहने आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *