नेपालका बाघ भारततिर बसाइँ सर्न थाले

काठमाडौं । संरक्षित क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढाएरमात्र हुँदैन । सङ्ख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य वन–जङ्गलतिर जाने गर्छन् । पछिल्ला वर्षमा चितवन र आसपासका क्षेत्रमा यस्तै घटना देखिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट घडियाल गोही र गैँडा बाढीले बगाएर भारत पुगेका घटना यसअघि सार्वजनिक भएका छन् । पछिल्लो समय नेपालका बाघ पनि भारततिरै बसाइँ सर्न थालेको विज्ञहरूको भनाइ छ । सीमित वासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमाक्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएका छन् ।

प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने अन्य तथ्यले पनि बाघ बिस्तारै भारतीय भूमिमा पुगेको देखिने बताउँछन् । पछिल्लो पटक सन् २०१८ मा गरिएको बाघ गणनामा देशैभर बाघको सङ्ख्या बढ्दा चितवन निकुञ्जमा भने घटेको थियो । यसको प्रमुख कारण नै यहाँका बाघ बसाइँ सरेर अन्यत्रै गइरहेका छन् भन्ने बुझ्न गाह्रो पर्दैन,” उनले भने ।

सन् २०१८ मा बाघको गणना हुँदा चितवन निकुञ्जमा ९३ वटा बाघ रेकर्ड गरिएका थिए । त्यसअघि सन् २०१३ मा १२० र सन् २००९ को गणनामा ९१ वटा बाघ चितवनमा रहेको तथ्याङ्क छ । उता, सन् २००८ सम्म एउटामात्रै बाघ भएको वाल्मीकिमा भने बाघको सङ्ख्या बढेर २०१८ को गणनामा ३० भन्दा माथि पुगेको पाइन्छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *